५ चैत्र २०७२, शुक्रबार

भक्तपुर, कानुुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले नेपालले असंलग्न परराष्ट्र नीतिलाई अङ्गीकार गर्दै भारत र चीनबीच समन्वयात्मक सम्बन्ध कायम गरिने बताउनुभएको छ ।

agni
गठ्ठाघरस्थित सिद्धार्थ विद्यापीठ सेकेन्डरी बोर्डिङ स्कुुलको १७ औँं अभिभावक दिवसका अवसरमा उहाँले नेपालले दक्षिण वा उत्तरमध्ये एकतर्फ मात्र नढल्की दुवै देशबीच सन्तुलित सम्बन्ध बनाइराख्ने स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्रीको भारत भ्रमणमा देशलाई नोक्सान हुने कुनै विषयमा सम्झौता नभएको प्रस्ट्याउँदै उहाँले चैत ७ गतेदेखि हुने प्रधानमन्त्रीको चीन भ्रमणमा पनि नेपाललाई फाइदा हुने विषयमा मात्रै सम्झौता हुने बताउनुभयो ।

उहाँले मधेसवादी दलले भनेजस्तो मधेसलाई एक वा दुई प्रदेश मात्रै बनाएर लैजान नसकिने बताउँदै देशको राष्ट्रिय अखण्डता, स्वाधीनता र सार्वभौमिकतालाई कायमै राख्ने गरी सहमति गर्न सकिने स्पष्ट गर्नुभयो ।

निजी विद्यालयले तिरेको करबाट सामुदायिक विद्यालय चलेको बताउँदै उहाँले भन्नुभयो–“निजी विद्यालय चल्न हुन्न भन्ने होइन तर सरकारले यस्ता विद्यालयको उपयुक्त ढङ्गले व्यवस्थापन गर्न लागेको छ ।”

कार्यक्रममा प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसी, उपाध्यक्ष दीपिका थापा रिमाल, विद्यालयका संस्थापक निर्देशक राजेन्द्र थापा, शिक्षा विभागका निर्देशक वैकुण्ठ अर्याल लगायतले सरकारले निजी विद्यालयको योगदानलाई मूल्याङ्कन गर्नुपर्ने औँल्याउनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV