५ चैत्र २०७२, शुक्रबार

बागलुङ, साग बेचेर यहाँकी एक महिलाले मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।

saag
जिल्लाको रायडाँडा–४ की ५५ वर्षीया पवित्रा थापाले ‘रायो’ साग बेचेर वार्षिक रु एक लाख कमाइ गर्दै आउनुभएको छ । थापाले मुख्य याममा दैनिक ५० किलोसम्म साग बेच्नुहुन्छ । आफ्नै सीप र अनुभवबाट साग उत्पादन गर्दै आउनुभएकी थापालाई गाउँमा सडक पुगेपछि व्यावसायिक बन्न सजिलो भएको हो । सदरमुकामदेखि रायडाँडा जोड्ने कृषि सडक बनेपछि गाउँको कृषि उत्पादनले बजार पाएको छ ।

“बजारमा सागको माग छ, रायडाँडाको साग भनेपछि सबैको रोजाइमा पर्छ”, थापाले भन्नुभयो – “पहिले–पहिले साग त्यत्तिकै कुुहिएर जान्थ्यो, गाईबस्तुलाई खुवाउनुपथ्र्यो, सिन्की बनाउने चलन थियो, अहिले बजारमा बिक्री हुन्छ ।”

अहिले साग प्रतिकिलो रु ३५ देखि रु ४० सम्ममा बिक्री हुने गरेको उहाँको भनाइ छ । थापाले घर आसपासका बारीमा व्यावसायिक रुपमा सागको खेती गर्दै आउनुभएको छ । सागसँगै थापाले अन्य तरकारी बाली पनि उत्पादन गर्दै आउनुभएको छ । काउली, बन्दागोभी, गाजर, धनियाँ पनि बेच्नुहुन्छ ।

थापामात्रै नभएर उहाँको परिवारले पनि खेतीपातीमा सघाउँदै आएको छ । उहाँका ६० वर्षीय श्रीमान् लक्ष्मण थापा र छोराछोरीसमेत कृषि उत्पादनमा खट्ने गरेका छन् । उहाँ व्यावसायिक बाख्रापालनलाई अघि बढाउने योजनामा हुनुहुन्छ । लघुउद्यम विकास कार्यक्रमको सानो सहायताबाहेक अन्य कुनै निकायबाट सहयोग नपाएको थापाको गुनासो छ । “आर्थिक स्रोत जुटेमा प्लास्टिक घरमा तरकारीखेती गर्ने लक्ष्य छ” उहाँले भन्नुभयो ।

रायडाँडाका अन्य किसानले पनि व्यावसायिक सागखेती गर्दै आएका छन् । यहाँको साग जैविक र स्वादिलो हुने हुँदा उपभोक्ताको पनि रोजाइमा पर्ने गरेको छ । अन्य तरकारी बालीको तुलनामा सागखेतीलाई त्यहाँका किसानले प्राथमिकता दिने गरेका छन् । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV