५ चैत्र २०७२, शुक्रबार

काठमाडौँ, भारतीय समाजवादी नेता राममनोहर लोहियाले जमिन बाँझो राख्न र उर्वरभूमिमा कारखाना स्थापना गर्न नहुने सिद्धान्त धेरै पहिले राखेका हुन् । तर यहाँ लोहियाका शुभचिन्तकले उनको सिद्धान्त भाषणमा उपयोग गरेर सत्ताको भ¥याङ चढे पनि व्यवहारमा लागू गर्न सकेनन् ।
लोहियाका विभिन्न सिद्धान्तमध्ये जमिन बाँझो राख्नु अपराधलाई प्रश्रय दिनु हो भन्ने थियो । तर नेपालमा आफूलाई लोहियाका अनुयायी र उनका विचारलाई समर्थन गर्ने नेपाली काँग्रेस र कम्युनिस्टका नेता सत्तामा पटक पटक पुगे । तर जमिन बाँझो राख्ने प्रचलनमा कहिल्यै कमी ल्याउन सकेनन् ।

धेरै टाढा जानुपर्दैन । सिंहदरवारबाट १८ किलोमिटर पूर्व भक्तपुरको सल्लाघारी चोकमा झन्डै पाँच हेक्टर (एक सय रोपनी) जमिन बाँझो भएको एक दशक नाघिसक्यो । सरकारले सो उर्वर भूमि उपयोगमा ल्याउन चाहेको भए सक्थ्यो । यद्यपि विभिन्न सरकारको कमजोर इच्छा शक्तिका कारण जमिन उपयोगमा आउन सकेन ।

भक्तपुरको हनुमन्ते खोलाबाट सजिलै सिँचाइ गरी खेती गर्न सकिने सो जमिन सरकारको स्वामित्वमा आएको एक दशक नाघि सकेको छ । राजा वीरेन्द्रको नाममा रहेको सो जग्गा नेपाल सरकारको स्वामित्वमा आएको १२ वर्ष नाघिसकेको हो । बाह्र वर्षमा काँग्रेस र कम्युनिस्टका धेरै नेता सत्तामा पुगे । परिणाम देखाउन आँट र दृष्टिकोण नहुँदा बाँझो जमिन उपयोगमा आएन । त्यसैले बर्सेनि खाद्यान्न तथा तरकारीको आयात घट्नुको सट्टा बढेको बढै छ भन्नुहन्छ कृषि विज्ञ डा कृष्णप्रसाद पौडेल ।

आपूर्ति मन्त्रालयका अनुसार नेपालले प्रतिमहिना रु दुई अर्बको चामल भारतबाट आयात गर्दै आएको छ । विसं २०५८ जेठ १९ गते तत्कालिन राजा वीरेन्द्रको परिवारले ज्यान गुमाउनु प¥यो । दरबार हत्याकाण्डपछि नेपाल सरकारले नेपाल ट्रष्टको स्थापना गरी राजा वीरेन्द्रको सम्पत्ति खोजबिन गर्ने कार्यको जिम्मेवारी सुम्पियो । नेपाल ट्रष्टका अनुसार राजा वीरेन्द्रका नाममा विभिन्न जिल्लामा ३३ हजार ८७० रोपनी जग्गा रहेको छ भने भक्तपुरमा मात्रै १०० रोपनी जग्गा अभिलेखमा पाइन्छ ।

सल्लाघारीको बाँझो जमिन एउटा प्रतिनिधि उदाहरणमात्र हो । यस प्रकारका जमिन घडेरीकरणमा रुपान्तरण, निजी वन बनाउने बहाना, कलकारखाना स्थापना र युवा जमात विदेशिएका कारण बाँझो हुन गएको सरकारको भनाइ छ । तर कृषि विकास मन्त्रालयमा सम्पर्क गर्दा सरकारसँग बाँझो जमिनको आधिकारिक तथ्याङ्क पाइँदैन ।

संयुक्त राष्ट्रसङ्घअन्तर्गत रहेको खाद्य तथा कृषि सङ्गठनका अनुसार आठ करोड ७० लाखभन्दा बढी मानिस भोक र कुपोषणबाट पीडित रहेको उल्लेख छ । त्यसो हुनुमा मुख्य कारण जमिन बाँझो हुने क्रम बढ्नु, खाद्यान्नको असमान वितरण, असमानता र विभेद हो ।

एकातिर जमिन बाँझो अर्कातिर कुपोषणको अवस्था नेपालमा संसारकै उच्च छ । पाँच वर्षमुनिका ४१ प्रतिशत बालबालिकाको शारीरिक वृद्धि रोकिएको छ । उनीहरु २९ प्रतिशत कम तौलका छन् । ११ प्रतिशत दुब्ला छन् । पहाड र हिमाली भेगमा बालबालिकाको शारीरिक वृद्धि अवरुद्ध रहेको खाद्य तथा कृषि सङ्गठनको प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा झन्डै ६० लाख मानिसलाई दुई छाक खान धौधौ परेको कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलको भनाइ छ । यसो हुनुको मुख्य कारण समयमा मलखाद, बीउबिजन उत्पादनको उचित मूल्य, कृषिमा उदासीनता, कृषि पेसालाई उपहास निर्वाहमुखी खेती प्रणालीमा सुधार हुन नसक्नुलगायत हो ।

खाद्य तथा कृषि सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा प्रतिदिन एक अर्ब १५ करोड जनता भोकै बस्नुपरेको छ । आफ्ना देशका जनताका लागि दुई छाक खाना खुवाउनुपर्ने संवैधानिक कर्तव्य र दायित्व त्यस देशको पर्दछ भन्नुहुन्छ कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष राजेश वर्मा ।

कृषि गणना, २०६८ अनुसार नेपालको कुल जनसङ्ख्याको ७१ प्रतिशत जनसङ्ख्या कृषिमा आत्मनिर्भर छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३४ प्रतिशत छ । जमिन उपयोगका हिसाबले ३० लाख ९१ हजार हेक्टरमा खेती गरिँदै आएको छ । घडेरीकरणमा रुपान्तरण तथा बाँझिदै गएको जमिन १० लाख ३० हजार हेक्टर छ भने वन जङ्गलले ढाकेको जमिन ५८ लाख २८ हजार हेक्टर, चरन १७ लाख ६६ हजार हेक्टर, पानीले ढाकेको क्षेत्र तीन लाख ८३ हजार हेक्टर र अन्य जमिन २६ लाख २० हजार हेक्टर रहेको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV