
राष्ट्रिय स्वार्थका मुद्दामा भारत भ्रमणमा झैँ नझुकीकन नेपालको बृहत्तर हितमा भ्रमण सफल बनाउन आग्रह
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणको तयारीका बारेमा सत्तापक्षलगायत विभिन्न विपक्षी पार्टीका नेताहरुसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको छलफलमा सहभागी नेताहरुले चीन भ्रमण सफल र फलदायी बनाउन तथा नेपालको आर्थिक विकासका साथै दुई देशको मित्रता बलियो बनाउन आग्रह गर्नुभयो ।
उहाँहरुले भारत भ्रमण जस्तै चीन भ्रमणलाई विवादरहित बनाउन सुझाव दिनुभयो । छलफलपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले चीनसँगको थप नाका खुलाउन तथा संयुक्त लगानी वृद्धि गरी आर्थिक विकासमा भूमिका निर्वाह गर्न आग्रह गरिएको बताउनुभयो ।
नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले थप नाका खोल्ने, रेलमार्ग विस्तार, जलविद्युत् विकासजस्ता विषयमा अघि बढ्न सुझाव प्राप्त भएको बताउनुभयो ।
एनेकपा (माओवादी)का महासचिव कृष्णबहादुर महराले राष्ट्रिय स्वार्थका मुद्दामा भारत भ्रमणमा झैँ नझुकीकन नेपालको बृहत्तर हितमा भ्रमण सफल बनाउन आग्रह गरिएको जानकारी दिनुभयो ।
नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकका कारण सो दलबाट कोही पनि छलफलमा उपस्थिति हुन नसकेको बुझिएको छ । रासस