५ चैत्र २०७२, शुक्रबार

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल, चीन भ्रमण उपलब्धीमूलक बनाउन देउवाको सुझाव

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । प्रधानमन्त्रीको आसन्न चीन भ्रमण र मधेश केन्द्रीत दलका मागका विषयमा उहाँहरुबीच कुराकानी भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उहाँहरुबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको हो । प्रधानमन्त्री ओलीको चैत ७ गतेदेखि हुन लागेको चीन भ्रमण लगायतका विषयमा समेत कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । एमाले अध्यक्ष समेत रहनुभएका  प्रधानमन्त्री ओलीले देउवालाई खादा लगाएर बधाई र सफल कार्यकालका लागि शुभकामना पनि दिनुभएको थियो ।

भेटमा काँग्रेस सभापति देउवाले आसन्न चीन भ्रमणलाई उपलब्धीमूलक बनाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको थियो । कांग्रेस सभापतिमा निर्वाचित भएपछि पहिलो पटक प्रधानमन्त्री ओलीसँग देउवाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गनुभएको हो ।

 

 

 

LIVE TV