५ चैत्र २०७२, शुक्रबार

“जहाँ गोर्खा सैनिक छन् त्यहाँ सुरक्षाको कुनै चिन्ता हुँदैन” भनेर पराक्रमी गोर्खा सैनिकको मुक्तकण्ठले प्रशंसा गर्ने बेलायतका राजकुमार ह्यारीले शनिबारदेखि नेपालको औपचारिक भ्रमण गर्दैछन्।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुईसय वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारीको भ्रमण हुन लागेको हो ।

HarryAfghanistan

आफ्नो राष्ट्रिय सेनाअन्तर्गतको गोर्खा बटालियनसँग सन् २००७—८ मा अफगानिस्तानमा बिताएका निश्चिन्त क्षणको वर्णनमा व्यक्त उद्गार र गोर्खा सैन्यको मातृभूमिमा नै राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिडबाट पहिलोपटक हुन लागेको यो भ्रमणलाई सफल तुल्याउन सरकारले सम्पूर्ण तयारी प्रायः पूरा गरेको छ ।

सरकारीस्तरमा मात्र नभई जनस्तरमा पनि नेपाल र बेलायतबीचको सम्बन्ध सुमधुर छ । विशेष सम्बन्ध भएकाले नै कैयौँ नेपाली रोजगार वा अध्ययनका सिलसिलामा बेलायतमा रहने गरेका छन् भने बेलायती जनता पनि नेपालका पर्यटकीय स्थलको भ्रमणमा आउने गरेका छन् । नेपालका युवामाझ लोकप्रिय खेल फुटबलको चर्चा चल्ने बित्तिकै त्यहाँको प्रख्यात क्लब म्यान्चेस्टर युनाइटेड सबैभन्दा पहिले उच्चारण हुन्छ ।

नेपालमा लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्व र विकासका निम्ति आफ्ना सहयोगी हात फैलाउँदै आएको बेलायतले अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)मार्फत गरिबी घटाउने, सहज सेवा प्रवाह, सुशासन प्रवद्र्धन, विपद् व्यवस्थापन, जलवायु अनुकूलन, आधारभूत स्वास्थ्य, शिक्षा, शासकीय सुधारजस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ । खानेपानी तथा सरसफाइ, कृषि, ग्रामीण पूर्वाधार विकास, यातायात, सञ्चार, प्रशासन र वन विज्ञानमा पनि उल्लेख्य सहायता प्रदान गरेको छ ।

पाँचवर्षे विकास रणनीतिअन्तर्गत नेपालको सामाजिक एवम् आर्थिक विकासमा सघाउँदै आएको बेलायतले आगामी सन् २०२१ सम्म हरेक वर्ष दश करोड पाउन्ड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । त्यसैगरी, भूकम्पपछिको पुनर्निर्माणका लागि गत असारमा यहाँ सम्पन्न नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा उसले ११ करोड अमेरिकी डलर प्रदान गर्ने वाचा गरेर नेपालको सुखदुःखको असल साथीको रुपमा आफूलाई उभ्याएको छ । नेपालको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको पूर्वाधार विकास, पर्यटकीय पदमार्ग र हवाइ सुरक्षासम्बन्धी परियोजनामा पनि बेलायतले मद्दत गर्दै आएको छ ।

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा बेलायती राजसंस्थाका प्रतिनिधिको यो भ्रमणलाई सरकारले उच्च प्राथमिकता दिँदै राजकुमारलाई स्वागत गर्न व्यग्रताका साथ प्रतीक्षा गरिरहेको बताउछन् ।

“भ्रमणलाई हामीले उच्च महत्वका साथ हेरेका छौँ र त्यसलाई अविष्मरणीय बनाउन पूर्ण तयारी गरिएको छ,” उनले भने ।

पूर्व परराष्ट्रमन्त्री डा भेषबहादुर थापा राजकुमार ह्यारीको भ्रमणलाई सबैले सकारात्मक रुपमा लिनुपर्ने बताउछन् ।

परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी राजकुमार ह्यारीको यो भ्रमणले नेपाल र बेलायतबीचको सम्बन्धले नयाँ उचाइ लिने र आपसी सहयोगका नयाँ क्षेत्रहरु पहिल्याउन त्यसबाट योगदान पुग्ने बताउछन् ।

पूर्वराजदूत डा दिनेश भट्टराई राजकुमारको तहमा हुन लागेको यो भ्रमणले नेपाल र बेलायतबीचको दुई शताब्दी पुरानो सम्बन्धलाई अझ सुमधुर, सुदृढ र बृहत् तुल्याउन मद्दत पुग्ने विचार व्यक्त गरे ।

रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV