५ चैत्र २०७२, शुक्रबार

“अहिले जुन ठाउंलाई मधेश भनिन्छ, आदीकालमा त्यो बिशाल पर्वत श्रृंखला थियो । मर्यादा पुरुषोत्तम श्रीराम जनकपुरधाम आउंदा ‘आम लेक भञ्ज्यांग’मा बास बसेका थिए जुन अहिले ‘अमलेखगञ्ज’को नामले चिनिन्छ । दोलखाको चरीकोट, त्रिशुलीको नुवाकोट, हुम्लाको सिमिकोटजस्तै लुम्बिनीको तिलौराकोट पनि कुनैबेला पहाड नै थियो ।

कतै कतै ससाना मानव बस्ती थिए । बांकी भाग बिशाल जंगल, सुन्दर झरना, अग्ला पहाडले ढाकेको थियो । उकाली, ओराली, देउराली त्यहांको आर्कषण थियो । तर त्यहां जान मानिसहरु खुब डर मान्थे । कुनै कारणले त्यो पहाड हिड्नु परेमा ‘त्राही त्राही’ भन्दै दौडने गर्दथे । बिस्तारै पहाडमा बस्ति बिकास भयो । त्यहांका बासिन्दाले पूर्व पश्चिम फैलिएको त्यो बिशाल भुभावलाई ‘त्राही पहाड’ भन्न थाले । समयक्रममा त्यही ‘त्राही’ अपभ्रंस हुंदै ‘तराई’ भनिंन थालिएको हो ।

जब रावणले सीतालाई हरेर लंका पुऱ्यायो, तब ‘त्राही पहाड’ पतन शुरु भयो । हनुमानको नेतृत्वमा लंका जाने क्षार समुन्द्र पुर्ने काम थालियो । समुन्द्र पुर्न भारतको माटोले पनि पुगेन । बानरराजले नेपालको दक्षिणी सीमानामा रहेको पहाड फोर्न आदेश दिए । बानर सेनाहरुले ‘त्राही पहाड’का सबै लहरा, पहरा, छहरा भत्काए । एक एक गर्दै रुख, बिरुवा, ढुंगा, माटो सबै दक्षिण भारत पुऱ्याईयो, र, त्यो सुन्दर पहाडी भुभागलाई जर्जर मरुभुमी बनाइयो ।

10599131_10152745131706474_4062401096165869724_n

लंकाबाट फर्किएपछि सीताले ‘माईती देश जान्छु’ भनिन् । रामले लक्ष्मणलाई अह्राए । देवर भाउजु जनपुरतिर लागे । ‘बयर भञ्ज्याङ्’ जुन अहिले बिरगजञ्जको रुपमा चिनिन्छ, त्यहां एकरात बास बसे । सीता छक्क परिन्, किनकी उनले छोड्दाको त्यो पहाड मैदानै मैदानमात्र भैसकेको थियो । ‘सप्तऋषि पर्वत’ सप्तरी भैसकेछ । ‘बयर भञ्ज्याङ्’ बिरगञ्ज बनि सकेछ । भरियाहरु भारी बिसाएर ढल्कने ‘ढल्कने चौतारो’को पिपल मासेर बरमात्रै बांकी रहेछ जुन अहिले ‘ढल्केबर’को रुपमा चर्चित् छ । जताततै सुख्खा बगरमात्रै थियो । लक्ष्मणले बताए, ’तपाईंलाई बचाउन यो पहाड भत्काईएको हो ।’

आफ्ना कारणले माइती देशको स्वरुप बिग्रिएकोमा सीता मैयांलाई खुब् पछुतो भयो । भक्कानिएर रुन थालिन् । सीताजी रुंदा रुंदा उनका आंशुले कोशी र गण्डकी नदी बने । पाप मोचनकालागि बर पिपल रोपिन्, फैलिएर चारकोशे झाडी बन्यो । जनकपुरको जमीनमा तिल, जौ चढाईन्, सुन्दर फांटहरु बने । पूर्व पश्चिम यात्रा गर्दा धेरै पसिना झारिन्, सीताजीका तिनै पसिनाका कारण सुख्खाग्रष्त माटो मलिलो र उर्वर भुमी बन्न पुग्यो ।

माइतीलाई मलिलो बनाएपछि सीताजीले अयोध्या फर्किने सोच बनाईन् । राजा जनकले आधा देश दाईजो दिन खोजे । सीताले सोझैं अस्वीकार गरिन् । भनिन्, ‘म दाइजो होईन, देश चाहान्छु ।’ ‘म देश चाहान्छु ’ भन्ने छोरीको अखण्ड बिचार सुनेर राजा जनक भाव विभोर भए र छोरीको पाउमा लिन् भए । सीता माताको त्यही ‘म देश चाहान्छु’ भन्ने दिब्य वाणी नै कालान्तरका ‘म देश’ हुंदै ‘मधेश’ हुन पुगेको कुरा होलीको अवसरमा गजुरीयल गफमात्र हो, भ्रममा नपर्नु होला ! होली रे !! ”
-A गजुReal गफ From ‘त्राही पहाड’ र सीताजीको पसिना’बाट

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV