
प्रधानमन्त्री ओलीको आसन्न चीन आसन्न भ्रमणलाई उपलब्धिमूलक बनाउने सरकारको निर्णय, भ्रमण फलदायी बनाउन थप गृहकार्य गरिने
सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन आसन्न भ्रमणलाई बढीभन्दा बढी उपलब्धिमूलक बनाउने निर्णय गरेको छ । भ्रमण फलदायी बनाउन सरकारले थप गृहकार्य पनि गर्ने भएको छ ।
मन्त्रिपरिषद्को हिजो राति बसेको बैठकले प्रधानमन्त्रीको आसन्न भ्रमणलाई फलदायी र प्रभावकारी बनाउन अधिकतम प्रयास गरिने निर्र्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री शेरधन राईले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले यही चैत ७ गतेदेखि १४ गतेसम्म चीन भ्रमण गर्दै हुनुहुन्छ ।
त्यसैगरि, सरकारले पेट्रोलियम पदार्थ आयात तथा बिक्रि वितरणका लागि निजी क्षेत्रलाई दिएको अनुमति रद्द गरेको छ । भारतको नाकाबन्दीका कारण देशमा पेट्रोलियम पदार्थको अभाव भएपछि सरकारले गत कात्तिक २ गते राजपत्रमा सूचना प्रकाशन गरी ३५ वटा कम्पनीलाई पेट्रोलियम पदार्थ आयात तथा बिक्रि वितरणको अनुमति दिएको थियो । सरकारको यो निर्णयपछि अब नेपाल आयल निगम बाहेक अन्य कुनै निकायले इन्धन आयात गर्न पाउने छैनन् ।
त्यस्तै, कर्णाली अञ्चलका पाँचै जिल्ला र सेतीको बाजुरा जिल्लामा देखिएको खाद्यान्न सङ्कट समाधान गर्नका लागि ती स्थानमा अविलम्ब खाद्यान्न र्पुयाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ । त्यसैगरि, सरकारले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैङ्क मार्फत नेपालले प्राप्त गर्ने २२ अर्ब ७४ करोड ९२ लाख १० हजार रुपैयाँ ऋण स्वीकार गर्ने निर्णय गरेको छ । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोगस्वरुप दिएको करिब ४९ करोड पचास लाख रुपैयाँ अनुदान पनि स्वीकार गर्ने निर्णय भएको छ ।