शैक्षिक गुणस्तर सुधार गर्न प्रमुख भुमिका खेल्नुपर्ने शिक्षक नियुक्तिमा नै चलखेल,झापाका दुई सामुदायिक विद्यालयमा शिक्षा नियमावली विपरित शिक्षकको नियुक्ति
झापा- सरकारले बिद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्न भन्दै शैक्षिक क्षेत्रमा बर्षेनी सर्वाधिक बजेट छुट्याउदै आएको छ । तर, शैक्षिक गुणस्तर सुधार गर्न प्रमुख भुमिका खेल्नुपर्ने शिक्षक नियुक्तिमा नै मोटो रकमको चलखेल हुने गरेको तथ्य भेटिएको छ ।
झापामा यस वर्ष वितरित अधिकांश शिक्षक कोटा नियुक्ति गर्दा आर्थिक चलखेल हुने गरेको तथ्य बाहिर आएको हो । जिल्लामा उच्च माध्यमिक विद्यालयका लागि यस वर्ष ४१ वटा अनुदान कोटा आएका मध्ये केहीमा शिक्षक नियुक्ति गर्दा शिक्षा नियमावली तथा प्रचलित ऐनलाई समेत चुनौति दिँदै शिक्षक नियुक्ति गरेको पाइएको छ ।
पछिल्लोपटक झापाको भद्रपुर उच्च मावि र महेशपुरस्थित अरनीको उच्च माविमा विना सूचना, विना प्रतिष्पर्धा शिक्षक नियुक्ति गरेपछि तथ्य सतहमा आएको हो । यी उच्च माबिले नियुक्त गरेका शिक्षकको शैक्षिक प्रमाणपत्र राखि अर्कैलाई पढाउन लगाउदै आएको पाइएको छ । भद्रपुर उच्च माबिमा यस बर्षको पौषमा सरकारले उच्च माध्यमिक शिक्षा परिषद मार्फत् २ जना शिक्षक कोटाको अनुदान दिएको थियो । कोटा अनुरुप बिद्यालय ब्यवस्थापन समितिले लेखा बिषय तर्फ सागर दाहाल र नेपालीतर्फ चैतन्य खरेललाई नियुक्ति गरेको भएपनि अहिलेसम्म उनीहरु हाजिरी खातामा हस्ताक्षर गर्न मात्र बिद्यालय जाने गरेको पाइएको छ । खरेल स्थानीय एमब्रेल एकाडेमी र दहाल बिर्तामोडस्थित सहारा नेपाल सहकारीमा कार्यरत छन् । उनीहरुको स्थानमा दोहोरो सुबिधा लिन नमिल्ने कानुनी ब्यवस्थालाई लत्याउदै सोही बिद्यालयमा मावि तृतिय शिक्षक दरवन्दीमा कार्यरत पदम कटुवाल र हेम ढुङ्गानाले पढाउदै आएका छन् ।
त्यस्तै, अरनिको उच्च माबिले पनि नियमावलीले तोके बमोजिमको मापदण्ड पूरा नगरी बिना सूचना २ जनालाई नियुक्ति दिएको छ । बिद्यालयले बजार शास्त्रतर्फ अशोकबहादुर प्रधान र अंग्रेजी बिषयमा श्रृजना शर्मालाई नियुक्ति गरेको छ । शर्माको ठाउँमा माबि दरबन्दीमा शिक्षण गरिरहेका अशोकभक्त सुब्बाले पढाउदै आएका छन् भने शर्मा बिर्तामोडस्थित बुद्ध एकडेमीमा पढाउदै आएकी छन् । उनि पनि महिनामा एक दिन बिद्यालय गएर हाजिर गर्दै आएकी छन् । यसरी दुवै विद्यालयमा नियुक्त भएका शिक्षकलाई सम्बन्धित विद्यालयका विद्यार्थीले समेत चिनेका छैनन् ।
भद्रपुर उच्च माविमा गत पौष १९ गतेको निर्णय भन्दै व्यवस्थापन समितिका अध्यक्ष हंसधर राजवंशी तथा प्राचार्य कुलबहादुर गुरुङले एक वर्ष वरावरको तलव लिएर चैतन्य खरेल र सागर दाहाललाई नियुक्ति दिएपछि विद्यालय भित्रबाटै विवाद सार्वजनिक भएको छ । राजवंशी र प्राचार्य गुरुङले शिक्षक नियुक्ति प्रकृयालाई वैधानिकता दिन स्रोत व्यक्ति, निरीक्षक र शिक्षा कार्यालयका बिद्यालय निरिक्षक उद्धव बिष्टलाई एकमुष्ट रकम दिनुपर्ने भन्दै नाम निकाल्न एक बर्षको तलब आफुहरुलाई बुझाउन दवाब दिएको एक आबेदकको दाबी छ । उनले तलब नदिने प्रतिक्रिया दिएपछि परीक्षामा समेत आफूलाई सामेल नगरिएको गुनासो गरे ।
यस बिषयमा जिल्ला शिक्षा कार्यालयको प्रतिक्रिया लिनखोज्दा बिद्यालय निरीक्षक बलराज खनाल व्यस्तताको कारण देखाउँदै पन्छिए । सरकारले प्रदान गरेको सामुदायिक उच्च माध्यमिक विद्यालयहरुले पाएका शिक्षक कोटामा ५ लाखदेखि ८ लाख रुपैयाँ सम्म आर्थिक चलखेल गरेर शिक्षक नियुक्ति गर्ने गरेको पीडितहरुको भनाइ छ ।