४ चैत्र २०७२, बिहीबार

झापाको बिर्तामोडमा सञ्चालित बिर्तामोड इन्स्टीच्यूट अफ डेन्टल ट्रनिङ एण्ड हस्पिटलले बिना इजाजत विद्यार्थी भर्ना गरी ठगी धन्दा चलाएको तथ्य बाहिर आएको छ । हस्पिटलले सिटिइभिटीबाट इजाजत नलिई १५ महिने डेन्टल एक्जुलरी कोर्ष अध्ययन गराउदै आएको अध्ययनरत विद्यार्थीले थाहा पाएपछि सो तथ्य बाहिर आएको हो ।

इलाम घर भएका पुरुषोत्तम भण्डारीले संञ्चालन गदै आएको हस्पिटलले सिटिइभिटीबाट ३ महिने तालिमको मात्र स्वीकृति लिएको खुलेको छ । तर हस्पिटलले बिद्यार्थीबाट जनही १ लाख पाँच हजार रुपैयाँ असुल्दै १५ महिने डेन्टल एक्जुलरी कोर्ष पढाउदै आएको थियो । अघिल्लो शैक्षिक सत्रमार्फत कोर्ष सकेर ५ महिनाअघि काम खोज्दै अस्पताल पुगेका बिद्यार्थीलाई झापाका बिभिन्न अस्पतालले उक्त शैक्षिक प्रमाणपत्र ३ महिने तालिमको मात्र भएकाले काम नदिने बताएपछि बिद्यार्थीले बल्ल हस्पिटलले ठगेको थाहा पाएका थिए । उनीहरुले उक्त कुरा अहिले अध्यायन गरिरहेका ३० जना बिद्यार्थीलाई सुनाएपछि १५ महिने डेन्टल एक्जुलरी कोर्ष भन्दै ३ महिने तालिम लिइरहेका बिद्यार्थीले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी गरेका छन् । हस्पिटलले सिटिइभिटीद्वारा सम्बन्धन पाएको प्रमाणपत्र उपलब्ध गराउने भनेपनि त्यस्तो प्रमाणपत्र नदिएपछि त्यहाँ अध्ययनरत विद्यार्थी अहिले आन्दोलित भएका छन् । हस्पिटलले अधिकाशं बिद्यार्थीबाट सम्पुर्ण रकम असुलेर आफूहरुलाई ठगेको विद्यार्थी र अभिभावकको भनाई छ ।

बिद्यार्थीको उजुरीपछि प्रशासनले मंगलबार हस्पिटलका संञ्चालक भण्डारी र कार्यकारी निर्देशक उनका छोरा आशिषलाई पक्राउ गरेको थियो । कार्यकारी निर्देशक भण्डारीलाई बिनाकार्वाही प्रहरीले छोडिदिएपछि बुधबार बिद्यार्थी र अभिभावकले जिल्ला प्रशासनमै पुगेर ठगि गर्नेलाई नछोड्न आग्रह समेत गरेका छन् । विद्यार्थी आन्दोलित भएपछि हस्पिटलको सेवा र कक्षा बन्द गरिएको छ भने सञ्चालकले आफ्नो साइनबोर्ड पनि मंगलबार राती नै च्यातेका छन् ।

अघिल्लो शैक्षिक सत्रदेखि नै कक्षा सञ्चालन गर्दै आएको हस्पिटलले २ वर्ष अघिका लागि मात्रै ३ सय ९० घण्टा तालिम गराउने स्वीकृति लिएको खुलेको छ । झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले हस्पिटलका सञ्चालक पुरुषोतम भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताउनुभयो । उहाले हस्पिटल सञ्चालकले बिद्यार्थी ठगि गर्दै आएको प्रारम्भिक अनुसन्धाबाट खुलेको समेत जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV