
काठमाडौँ- भनिन्छ जनताको चेतना, मनोविज्ञान र चाहना बमोजिम दलहरुले आफुहरुलाई रुपान्तरण गर्दै लैजानु पर्दछ । झनै बदलिदो परिस्थिती अनुसार आफुलाई गतिशिल बनाउन नसक्ने पार्टीले समाज परिवर्तन गर्ने क्षमता र नैतिकता पक्कैपनि राख्दैनन् । नेपालका दलहरुलाई जनताको भावना बुझेनन भन्ने आरोप नया त होईन, झनै प्रविधिको प्रयोगमा पनि दलहरु कति पछाडी रहेछन् भन्ने कुरा मुख्य दलहरुका बेवसाईटहरुले छर्लङ्ग पारेको छ ।
अर्थशास्त्रमा नोवल पुरस्कार प्रास्त विख्यात अर्थशास्त्री जोसेफ स्टिल्गले एक समय भनेका थिए एक्काईसौं शताव्दीमा कुन राजनीतिक दल आर्थिक सामाजिक आयाममा कति खरो छ भने थाहा पाउन उसले आधुनिक प्रविधिको प्रयोग कति गरेको छ भन्ने हेरेमात्र पुग्छ । हुन पनि विकसित र विकाशिल मुलुकहरुमा राजनीतिक दलहरु सूचना प्रविधि अत्यन्त चुस्त हुँदै आफ्ना नीति एवं कार्यक्रमहरुलाई त्यहि गतीमा प्रस्ततु गरेका हुन्छन् ।
तर नेपालको सम्वन्धमा जस्तो दलहरुको कछुवा शैली छ सूचना प्रविधिमा पनि त्यस्तै गति छ । प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र एकिकृत नेकपा माओवादी तीनै ठूला दलहरुका आधिकारिक बेवसाईटहरु छन् । ती वेवसाईटहरु अलि टाढावाट नियाल्दा पाना भरिएजस्तो लाग्छ तर नजिकै गएर नजर लगाउँदा यति पुराना सूचनाहरु राखिएको हुन्छ कि मानौं लामो समय देखि दलहरु गतिविधी शून्य छन् । कांग्रेसको बेवसाईटमा स्वर्गीय नेता सुशील कोईराला सभापति छँदै राखिएका सूचनाहरु भेटिन्छन् । एमालेको वेवसाइटमा झलनाथ खनालका कार्यकालका मिति सकिएका सूचनाहरु छन् भने एकीकृत नकेपा माओवादीको बेवसाईट हेर्दा यस्तो लाख्छ पहिलो संविधानसभापछि पार्टी कार्यक्रम शून्य छ ।
यो त एक नमुना उदाहरण मात्र हुन् । यस्तै अवस्था अन्य दर्जनौं पार्टीहरुको छ । २१ औं शताव्दी सूचना प्रविधिको युुग हो । यस युगमा आधुनिक प्रविधिमा चुस्त हुन नसक्ने व्यक्ति होस् वा संस्था निश्चितरुपमा पछाडी पर्दछ । जनताको चाहना र मागलाई कहिल्यै सम्वोधन गर्न नसकेका नेपालका दलहरु सूचना प्रविधिमा धेरै पछाडी परे भन्दा ठूलो विषय त नहोला् तर अव पुरानो कार्यशैली र तरिकाले दलहरु अगाडी बढ्न सक्ने छैनन् । र उनीहरुलाई नयाँ पुस्ताले स्विकार गर्ने छैनन् ।
जति सक्दो चाँडो सूचना प्रविधिका क्षेत्रलाई चुस्त बनाई स्वदेश तथा विदेशमा रहेका मानिसहरुलाई आफ्ना नीति तथा कार्याक्रमवारे सहजरुपमा जानकारी गराउन दलहरु पछि पर्नु हुँदैन् । अन्यथा समयको रफ्तारले दलहरुलाई धेरै पछाडी छोडिसक्नेछ ।