
ग्याँस एवम पेट्रोलियम पदार्थको सहज आपुर्तिका लागि उच्च प्राथमिकता दिएको आपुर्ति मन्त्रीको भनाई, तीन स्थानमा पेट्रोलियम भण्डारण केन्द्र बनाइने
काठमाडौँ, आपूर्तिमन्त्री गणेशमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पेट्रोलियम पदार्थ आयातका लागि चीन सरकारसित थप कुराकानी हुने बताउनु भएको छ ।
ब्यवस्थापिका–संसद्, उपभोक्ता हित संरक्षण समितिको बैठकमा मन्त्री पुनले ग्यास एवम् पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि मन्त्रालयले उच्च प्राथमिकता दिँदै काम गर्दै आएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको चीन भ्रमणमा समेत यसले महत्व पाउने जानकारी दिनुभयो । भारतीय आयल कर्पाेरेसन आइओसीले नेपाल आयल निगमलाई पेट्रोलको तुलनामा डिजेल कम पठाएको हुँदा बजारमा केही अभाव देखिएको उहाँले स्वीकार्नुभयो । काभ्रेको पाँचखाल, नुवाकोटको बट्टार र गोरखाको खैरेनीटारमा पेट्रोलियम पदार्थ भण्डार केन्द्र स्थापना गर्ने कार्य अगाडि बढाएको पनि मन्त्री पुनले बैठकमा जानकारी दिनुभयो ।
मन्त्री पुनले आयल निगमले आफ्ना कर्मचारीलाई बोनस वितरण नगर्ने सञ्चालक समितिको बोर्ड बैठकबाट भएको जानकारी सांसदहरुलाई गराउनुभएको थियो ।