४ चैत्र २०७२, बिहीबार

काठमाडौँ, रोजगारीका लागि दिनहुँ विदेशिने युवाको सङ्ख्या हजारौँ भए पनि सीप भएका युवाले खाली हात बस्नुपर्दैन भन्ने गतिलो उदाहरण हुन् युवा व्यवसायी रामशरण विश्वकर्मा ।

रसुवा, भोर्ले–९ का ३३ वर्षे युवा रामशरणले प्रवेशिका परीक्षा सकिने बित्तिकै रोजगारीका लागि काठमाडौँको यात्रा तय गरेका थिए । सुरुवातका दिन निकै सङ्षर्घशील भए पनि त्यसको केही वर्षपछि उनले सफलताको स्वाद पनि चाख्न थालिहाले ।

नेपाल सुन चाँदी व्यवसायी सङ्घद्वारा सञ्चालित नेगोसिडा नामक परियोजनामार्फत एक वर्षे शिल्पी डिजाइनिङ कोर्स लिएपछि उनको आत्मविश्वासले रङ्ग देखाउन थाल्यो । उनी भन्छन्–“तालिम लिनुअघिसम्म अर्काको पसलमा सानोतिनो काममा गुजारा चलाइरहेको भए पनि त्यसपछि ममा आत्मविश्वास आयो । अलिअलि लगानी अनि धेरै परिश्रम र धैर्यताका कारण अहिलेको सफलता हात लागेको हो ।”

बिबीएससम्मको अध्ययन गरेका रामशरणले सानैदेखि आफ्ना अभिभावकले पनि यही काम गरेको देखेका थिए । तर अभिभावकले जति काम गर्दा पनि हातमुख जोर्नेभन्दा बढीको आयआर्जन गर्न नसकेको यथार्थ पनि उनको अगाडि थियो । उनले आफैँले यही काम थालनी गरेपछि केही नयाँ गर्न नसके यो क्षेत्रमा अगाडि बढ्न गाह्रो हुने देखिसकेका थिए । त्यसैले पनि उक्त तालिमले आफ्नो कार्यशैलीमा परिवर्तन ल्याएको उनी बताउँछन् ।

सुरुमा कोटेश्वरमा सीमित रहेको उनको ‘प्रशंसा ज्वेलर्स प्रालि’ले अहिले सातदोबाटो र कलङ्कीमा आफ्नो शाखा विस्तार गरिसकेको छ । अहिले उनले २०÷२५ जनालाई रोजगारीसमेत दिएका छन् । व्यवसायले अहिले उनलाई दामका साथै नाम पनि दिलाएको छ । कामका कारण नै विभिन्न सङ्घसंस्थाबाट उनले सम्मान पाउने गरेका छन् ।

“लगन र परिश्रम भए कहीँ पनि मानिसले असफलता भोग्नुपर्दैन”, उनले भने– “अहिले नेपालभर पाँच लाख बङ्गाली सुन तथा चाँदीको काम गर्दैछन् । काठमाडौँमा मात्र तीन लाख छन् । उनीहरु नेपालमा आएर सुन चाँदीको डिजाइन बनाउन सिक्ने र यहीँ व्यवसाय गर्छन । “उनीहरु यहाँ आएर काम गर्न सक्छन् भने हामी यहीँ भएकाले किन नसक्ने ?” उनले भने । विश्वकर्माले डिजाइन गरेको गहना अहिले नाम चलेका ऋद्धिसिद्धि ज्वेलर्स, निलम ज्वेलर्सबाट समेत माग भई बिक्री हुने गरेको छ ।

आफूमा रहेको सीप अरुलाई पनि सिकाउने र यस क्षेत्रमा दक्ष कालिगढको सङ्ख्या वृद्धि गराउनेतर्फ केही गर्न सकिन्छ भन्नेतर्फ पनि आफूले योजना बनाउँदै गरेको उनले सुनाए । युवाले आँट गरे गर्न नसक्ने भन्ने केही कुरा नभएको बताउने रामशरण युवालाई अझ प्रोत्साहनको खाँचो रहेको छ भन्छन् ।

“सरकारले पनि युवाका लागि केही गर्नुप¥यो”, उनले भने, “नेपालमा सीप सिकाउने संस्था नै कम छन् । युवाले काम सिक्छु केही गर्छु भन्ने सोच राखे पनि कहाँ सिक्ने भन्ने समस्या हुन्छ । अनि लगानीको कुरा पनि उठ्छ । त्यसपछि केही गर्ने विचार भएका युवा पनि हतोत्साही हुन्छन् अनि विदेशिन्छन् ।”

सरकारले युवालाई विदेशिनबाट जोगाउन रोजगारीको सिर्जना गर्नैपर्ने उनले बताए । रासस

 

LIVE TV