४ चैत्र २०७२, बिहीबार

भन्सार विभागले नौ अर्ब ३४ करोड ४१ लाख वीरगञ्ज भन्सारलाई लक्ष्य दिएपनि पांच अर्ब ८७ करोड आठ लाख रुपैयाँ मात्र राजस्व असुली

bhansar

वीरगञ्ज- रक्सौल नाका नाका खुलेको एक महिना बितिसक्दा समेत मुलुकको प्रमुख नाका वीरगन्ज भन्सार कार्यालयको राजश्व असुलीमा उल्लेख वृद्धि हुन सकेको छैन । नाकाबन्दी खुलेपछि पनि पेट्रोलियम पदार्थ, एलपी ग्याँस, नयाँ सवारी साधन र फलामजन्य उद्योगका कच्चा पदार्थ कम आयात भएका कारण राजश्व असुलीमा कमी आएको भन्सार कार्यालयले जनाएको छ ।

फागुन महिनामा भन्सार विभागले नौ अर्ब ३४ करोड ४१ लाख वीरगञ्ज भन्सारलाई लक्ष्य दिएपनि पांच अर्ब ८७ करोड आठ लाख रुपैयाँ मात्र राजस्व असुली गरेको छ । उसले भन्सारले दिएको लक्ष्यको ६२ दशमलव ८३ प्रतिशत राजस्व मात्र असुली गर्न सकेको हो । बढि राजश्व असुली हुने पेट्रोल, एलपी ग्यास, नयाँ सवारी साधन र फलामका कच्चा पदार्थहरु कम आयात भएकाले राजश्व असुलीमा कमी आएको बताइएको छ ।

 

नाका खुलेको माघ २२ देखि फागुन २२ गतेसम्म एक महिनाको अवधीमा भारतबाट वीरगन्ज नाका हुदै पेट्रोल, डिजेल, हवाइ इन्धन र मट्टीतेल गरि पाँच करोड ८५ लाख ७३ हजार लिटर पेट्रोलियम पदार्थ तथा ७० लाख ३७ हजार ६ सय ३५ केजी एलपी ग्याँस वीरगञ्ज नाका भएर भित्रिएकोमा त्यसबाट ६५ करोड ९८ लाख ७४ हजार रुपैया राजश्व असुली भएको भन्सार कार्यालयले जनाएको छ । नाका सहज भएको एक महिना यता भन्सार कार्यालयको दैनिक राजश्व असुली १५ करोड हुने गरेको वीरगञ्ज भन्सार कार्यालयका भन्सार प्रमुख सेवन्तक पोखरेलले बताउनुभयो । नाका खुलेको एक महिनामा मोटरसाइकल तथा साना ठुला चार पाङग्रे सवारी साधनमा कमी आएकोले राजस्व असुलीमा कमी आएको भन्सार प्रमुख पोखरेलले बताउनुभयो ।

नाकाबन्दी भन्दा पहिला वीरगञ्ज नाकाबाट आयात गर्ने आयातकर्ताहरुले नाका ठप्प भएपछि अरु नाकाबाट मालसामान भित्रयाउनको लागि एलसी खोलिसकेको हुनाले सामानहरु आयात भईसकेपछि मात्र वीरगञ्ज नाकाबाट सामानहरु भित्रयाउने भएकोले लक्ष्य भन्दा कम राजस्व असुली हुने गरेको भन्सार प्रमुख पोखरेलले जानकारी दिनुभयो । वीरगन्ज नाकाबाट पैठारी हुने केहि सामानहरु नाकाबन्दीका बेला अन्य नाका र रेल मार्ग मार्फत सिर्सिया ड्राइपोर्टमा आयात गर्दै आएका आयातकर्ताले अहिले नाका खुल्दा समेत उतैबाट आयात गरिरहेको पाइएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV