४ चैत्र २०७२, बिहीबार

‘नेपालको स्विट्जरल्यान्ड’ नामको उपमाले परिचित जिरी प्राकृतिक सुन्दरताका कारण प्रख्यात बन्दै

jiri2
‘नेपालको स्विट्जरल्यान्ड’ नामको उपमाले परिचित जिरी प्राकृतिक सुन्दरताका कारण प्रख्यात छ । यहाँबाट गौरीशङ्कर हिमशृङ्लाको दृश्यावलोकन सहजै गर्न सकिन्छ । चिसो हावापानी र रमणीय डाँडापाखाले धपक्क छोपेको जिरीका चेरदुङ, ग्वाचे, ठूलोनागी, चौरीखर्क, हनुमन्ते, हलेश्वर महादेव, गोकुलेश्वरी, जिरेश्वरी, खावारामभोलेलगायतका दर्जनौँ स्थान पर्यटकीय आकर्षणका गन्तव्य बन्दै गएका छन् ।

जिरीका ग्वाचे र ठूलोनागीमा देखिने १६ थरीका विभिन्न प्रजातिका गुराँसका फूलले जसलाई पनि रोमाञ्चित र आनन्दित तुल्याउँछ । तर ती स्थानसम्म पुग्न सडकको पूर्वाधार नभएको स्थानीयवासीको गुनासो छ । प्राकृतिक सौन्दर्यअनुसारको सडकको विकास भएको छैन । ती ठाउँमा भ्यू टावर बनाउन सके पर्यटकीय आकर्षण बढ्ने उद्योग वाणिज्य सङ्घ, जिरी शाखाका पूर्वअध्यक्ष भूमिराज खड्का बताउनुहुन्छ ।

विसं २०४२ देखि बन्द अवस्थामा रहेको जिरी विमानस्थललाई अविलम्ब सञ्चालनुपर्नेमा उहाँले जोड दिनुभयो । विमानस्थल सञ्चालन भए पर्यटकको चाप दोब्बरले बढ्ने देखिन्छ । जिरी चिया बगान, रेन्वो ट्राउट माछा, याक चिज, किबी फल, भुइँस्याउलगायतका उत्पादन प्रसिद्ध मानिन्छ ।

“कृषि र पर्यटनमा मात्रै ध्यान दिन सके राज्यले पनि लाभ हासिल गर्न सक्छ” पूर्वअध्यक्ष खड्काले भन्नुभयो । जिरेल समुदायको लोकसंस्कृतिको अवलोकन, सदैव हरियाली देखिने जिरीको जनसङ्ख्या १३ हजार रहेको छ । यहाँ जिरेल समुदायको बाहुल्यता छ ।

जिरी नगरपालिकाका इन्जिनियर सुरेश अर्यालले जिरी क्षेत्रको विकासका लागि पर्यटन गुरुयोजनाकोअभाव रहेको बताउनुभयो । “सडक पूर्वाधारको विकास भए जिरीको विकासमा गति आउने थियो,” उहाँले भन्नुभयो, “सम्भावना धेरै छन् तर पहिचान हुन सकेको छैन ।”

सगरमाथा आरोहण गर्न विदेशी पर्यटक जिरीको बाटो भएर आवतजावत गर्ने गरेका छन् । समुद्री सतहबाट दुई हजार ६०० मिटरको उँचाइमा रहेको ‘क्यामल सिप’ भेडाको प्रजाति पनि सबैको आकर्षणमा परेको हुन्छ । स्विट्जरल्यान्डबाट ल्याइएको यस प्रजातिको भेडा यहाँमात्रै पाउने बताइएको छ ।

जिरीमा रहेको पशु विकास फार्म पनि पर्यटकको आकर्षक गन्तव्य हुने गरेको छ । स्विस सरकारको सहयोगमा २०१४ सालमा स्थापना भएको सो फार्म सरकारलाई २०२० सालमा हस्तान्तरण भएको थियो । फार्मबाट जर्सी गाईको न्यूसक्लियस हर्ड व्यवस्थापन गरेर प्रजननका लागि उन्नत जातको बहर उत्पादन गरेर वितरण हुने गरेको पशु विकास प्राविधिक एकनारायण पौडेल बताउनुहुन्छ ।

“उन्नत जातको बङ्गुरका पाठापाठी उत्पादन गरेर कृषकलाई वितरण गर्ने लक्ष्य छ” उहाँले भन्नुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV