४ चैत्र २०७२, बिहीबार

म्याग्दी, जिल्लाको चिमखोलामा महिलाले सञ्चालन गरेको अल्लो कपडा उद्योग सङ्कटमा परेको छ ।

DSC05431
दक्ष जनशक्तिको अभाव भएपछि सो उद्योग बन्द हुने अवस्थामा पुगेको हो । विसं २०६५ मा स्थापना भएको ‘शान्ति अल्लो कपडा तथा बुनाइ उद्योग’ नियमित रुपमा सञ्चालन हुन सकेको छैन । अल्लो प्रशोधन र बुनाइसम्बन्धी तालिम सञ्चालन भएको अवस्थामा मात्रै उद्योग चल्ने गरेको सो उद्योगकी अध्यक्ष दूतकुमारी पुनले बताउनुभयो ।

सामूहिक रुपमा सञ्चालित उक्त उद्योगमा सुरुमा १२ जना महिलाले अल्लो प्रशोधन र कपडा बुनाइको काम गरेका थिए । बसाइँ सराइका कारण तालिम लिएका उद्यमी सहरी क्षेत्रमा पलायन भएपछि उद्योग सञ्चालन गर्न कठिनाइ भएको अध्यक्ष पुन बताउनुहुन्छ । उद्योगमा स्थानीय जङ्गलमा पाइने अल्लो पुवा सङ्कलन र प्रशोधन गरी धागो बनाई सोही धागोबाट कपडा बुन्ने गरिन्छ । अल्लोको कपडाको माग धेरै आए पनि जनशक्ति नहुँदा वार्षिक रु ५० हजारदेखि रु ६० हजारसम्मको मात्रै उत्पादन हुन्छ ।

उद्योग सञ्चालन गर्न लघुउद्यम विकास कार्यक्रमको सहयोगमा साझा सुविधा केन्द्र भवन निर्माण भएको छ । सङ्गम, लघुउद्यमी समूह सङ्घ, घरेलु तथा साना उद्योग विकास समिति, गाविस, जिविसलगायतका निकायले अल्लो प्रशोधन र धागो बुन्ने उपकरण सहयोग गरेका थिए ।

लाखौँ लगानी गरेर तयार भएको भवन र उपकरण प्रयोग गर्ने जनशक्ति नभएर उपयोगविहीन भएका छन् । उद्योगलाई आवश्यक जनशक्ति तयार पार्न गाउँका एघारजना नयाँ युवतीलाई अल्लो प्रशोधन र धागो बुन्ने तालिम दिन सुरु गरिएको छ । रासस

 

LIVE TV