४ चैत्र २०७२, बिहीबार

बागलुङ, छालाको वंशाणुगत रोग ‘एथाइसिस’ बाट ग्रसित जिल्लाको भिमगिठे–५ का ११ वर्षीय बालक रमेश दर्जीको उपचारका लागि विभिन्न सङ्घसंस्था र व्यक्तिबाट रु १६ लाख सङ्कलन भएको छ ।

rames
राजधानीको काठामाडौँ मेडिकल कलेजमा उपचार गराइरहेका दर्जीको उपचारका लागि देश र विदेशमा आर्थिक सहायता अभियान चलिरहेको छ ।

बागलुङ समाज जापानले सबैभन्दा ठूलो रकम रु सात लाख सहयोग प्रदान गरेको छ । बागलुङमा भएको एक कार्यक्रममा समाजका वरिष्ठ सल्लाहकार दिलु खत्रीले दर्जीको परिवारलाई सहायता रकम हस्तान्तरण गर्नुभएको थियो । बिरामी छोरालाई साथमा लिएर आएका बुबा नन्दबहादुर दर्जी र आमा नरकुमारी दर्जीले रु सात लाख बराबरको ‘बैंक चेक’ बुझेका थिए । यसैसाता गलकोट अस्ट्रेलिया समाजले पनि दर्जीको उपचारका लागि रु एक लाख आर्थिक सहयोग प्रदान गरेको हो ।

जन्मेको सात दिनदेखिनै छालासम्बन्धी रोगबाट ग्रसित बनेका रमेश पछिल्लो समय नराम्रोसँग थला परेका छन् । विपन्न परिवारमा जन्मेका रमेशको उपचारका लागि अर्थाभाव भएपछि उनको अवस्था दयनीय बन्न पुगेको छ । बोल्न, हिँडडुल गर्नसमेत नसक्ने अवस्थामा पुगेका रमेशका बारेमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन÷प्रसारण भएपछि देशविदेशबाट सहयोग जुट्ने क्रम सुरु भएको हो ।

बागलुङ समाज जापानको समेत गरी अहिलेसम्म रु १६ लाख सहयोग प्राप्त भएको रमेशका बुबा नन्दबहादुर दर्जीले बताउनुभयो । उपचारको अभावमा मृत्युसँग जुधिरहेका बालकको जीवनरक्षाको लागि जापानमा आर्थिक सङ्कलन अभियान चलाइएको समाजका सल्लाहकार खत्रीले बताउनुभयो ।

पहिलो चरणको उपचारपछि रमेशको अवस्थामा उल्लेख्य सुधार आएको छ । चिकित्सकले अर्को महिना थप उपचारका लागि बोलाएको नन्दबहादुरले बताउनुभयो । अस्पतालले रमेशको उपचार निःशुल्करुपमा गर्दै आएको छ । यातायात खर्च र औषधि किन्न अहिलेसम्म रु ३० हजार जति खर्च भएको र बाँकी सबै अस्पतालले निःशुल्क गरिदिएको उहाँले जानकारी दिनुभयो ।

रमेशको दुवै खुट्टा खुम्चिएर नचल्ने अवस्थामा पुगेकाले छ महिनापछि शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको छ । चिकित्सकले रमेशलाई छालाको जिनसम्बन्धी वंशाणुगत रोग एथाइसिस लागेको पुष्टि गरेका थिए ।

यस्तै, उनलाई भिटामिन तथा पौष्टिक आहाराको कमीले कुपोषण भएको जनाइएको छ । नन्दबहादुर दम्पतीको रमेशसँगै चार छोरा छन् । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV