
चितवन, सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको गणना कार्य भोलिदेखि सुरु गरिने भएको छ ।
पहिलो चरणमा राप्ती र नारायणी नदीमा गणना गरिँदैछ । त्यसपछि क्रमशः अन्य नदीमा रहेका गोहीको गणना गरिने चितवन राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । कार्यालयको कसरामा गोही प्रजनन केन्द्र रहेको छ ।
निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार दुई नदीलाई आठ भागमा विभाजन गरेर चार समूहले दुई चरणमा गोही गणना गर्दैछन् । पहिलो चरणमा राप्तीको लोकतान्त्रिक तालबाट सौराहासम्म पहिलो खण्ड, सौराहाबाट कसरासम्म दोस्रो खण्ड, कसराबाट गोलाघाटसम्म तेस्रो खण्ड र नारायणीको गोलाघाटबाट अमलटारीसम्म चौथो खण्डमा भोलिदेखि तीन दिनसम्म गोही गणना गरिँदैछ ।
दोस्रो चरणमा यही चैत ९ गतेदेखि ११ गतेसम्म नारायणी नदीको सिख्रौलीको तीन भङ्गालोदेखि अमलटारीसम्म पहिलो खण्ड, गाँजीपुरदेखि गोलाघाटसम्म दोस्रो खण्ड, अमलटारीदेखि बगवानसम्म तेस्रो खण्ड र बगवानदेखि त्रिवेणीसम्म चौथो खण्ड छुट्याएर गोही गणना गरिँदैछ ।
नारायणी नदीमा विभिन्न भङ्गाला रहेका छन् । यसअघि गोही देखिएका ठाउँमा मात्रै गणना गरिने भएको छ । नदी किनारमा र पानी बाहिर टाउको निकालेर बसेका गोहीको तीन दिनसम्म नियमित गणना गरी धेरै सङ्ख्या जुन दिन देखिन्छ त्यसैलाई आधिकारिक तथ्याङ्क मानिन्छ ।
बिहान ७ देखि १० बजेसम्म गोही गणना गरिने सहायक संरक्षण अधिकृत अर्यालले बताउनुभयो । यसका लागि एक समूहमा एक जना तथ्याङ्क लिने व्यक्तिसहित पाँच जना रहेका छन् । एक समूहले एउटा डुङ्गा प्रयोग गरेर गोही गणना गर्नेछ ।
दुई नदीको गणना सकिएलगत्तै कर्णाली, बबही, राप्ती, कोसीलगायतका नदीमा पनि गोही गणना गरिने छ ।
नेपालका विभिन्न नदीमा सङ्ख्या बढाउन बर्सेनि गोही छोडिँदै आइएको छ । यद्यपि छोडिएको गोहीको तुलनामा सङ्ख्या भने बढेको पाइँदैन ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार हालसम्म छवटा नदीमा एक हजार ५६ वटा गोही छाडी सकिएको छ । राप्ती नदीमा ३७६, नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोसीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छाडी सकिएको छ ।
यद्यपि सन् २०१३ को गणनाअनुसार नेपालका नदीमा २०० मात्र गोही रहेका थिए । गोही छाडिएको भए पनि त्यतिबेला कालीगण्डकी र सप्तकोसीमा गोही शून्य अवस्थामा रहेको थियो ।
सन् १९७८ मा चितवन राष्ट्रिय निकुञ्जभित्रको कसरामा गोही प्रजनन केन्द्र स्थापना गरी निरन्तर यसको संरक्षणमा सरकार लागेको भए पनि नदीमा छाडिएका गोही दिनानुदिन घट्दै गएका छन् । नदीमा प्रजनन हुने र सङ्ख्या बढ्नुपर्नेमा त्यस विपरीत छाडिएका गोही पनि हराउँदै गएका हुन् ।
नेपालमा सन् १९८१ वाट नदीमा गोही छाड्न सुरु गरिएको हो । प्रजनन केन्द्रमा हुर्काएका गोही नदीमा छाडिँदै आइएको छ । हरेक वर्ष विश्व सिमसार दिवस, वन्यजन्तु सप्ताहलगायतका दिवसका अतिरिक्त अन्य कार्यक्रम पारेर पनि नदीमा गोही छाडिँदै आइएको छ । रासस