
काठमाडौँ। राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले सम्पूर्ण युवावर्गको भावनालाई सम्बोधन हुने गरी युवा नीतिसम्बन्धी नयाँ कार्ययोजना ल्याउने गृहकार्य भइरहेको बताउनुभएको छ । अन्तरपार्टी युवा सञ्जालले बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले राष्ट्रिय युवा नीति बनाउन संलग्न सरोकारवाला संस्थाको सहयोगबाट नै युवा लक्ष्यित कार्यक्रम परिषद्ले अगााडि बढाउने बताउँदै त्यसका लागि आफूले परामर्श सुरु गरेको जानकारी दिनुभयो ।
युवा सङ्घ नेपालकी उपाध्यक्ष दिलु पन्तले मुलुकलाई समृद्ध बनाउनका लागि राजनीतिमा लागेका तथा तटस्थ भई समाजसेवामा क्रियाशील युवा समुदायको पक्षमा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिँदै विभिन्न परिस्थितिले देशबाहिर रहेका नेपाली युवालाई समेत स्वदेशमा फर्काएर रोजगारी उपलब्ध गराउने वातावरण तयार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
तरुण दलका कार्यवाहक अध्यक्ष राधा घलेले युवावर्गलाई राज्यको मूलधारमा ल्याउन सकेमा मात्र युवा नीतिको कार्यान्वयन सार्थक हुने बताउनुभयो । अन्तरपार्टी युवा सञ्जालका सदस्य आरसी शर्मा, कमलेश यादवलगायतले परिषद्लाई पूर्णता दिने क्रममा समावेशी अवधारणाअनुसार सबै क्षेत्रका युवाको सन्तुलित प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिनुभयो ।
परिषद्मा कम्तीमा १२ महिलासहितको ३५ सदस्य गठन गर्नुपर्ने व्यवस्था छ । उक्त सञ्जालमा नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी), मधेसकेन्द्रित दललगायत १० राजनीतिक दल निकट युवा सङ्गठन आबद्ध छन् । रासस