
आकस्मिक गर्भनिरोधक चक्कीलाई मकैभटमासझैं प्रयोग गर्ने शहरी युवतीहरुको संख्या बढ्दो, इमर्जेन्सी पिल्सको अध्याधिक सेवनले बाँझोपनमा वृद्धि हुने चिकित्सको भनाई ।
स्वास्थ्यका बारेमा भएको अपुरो ज्ञानले महिलामा विभिन्न समस्या आइरहेका छन् । विशेष गरी आकस्मिक गर्भनिरोधक चक्की र गर्भपतनसम्बन्धी बुझाइ अपुरो देखिन्छ । असुरक्षित यौन सम्पर्क गरेको ७२ घन्टाभित्र ‘इमर्जेन्सी पिल’ खाएमा गर्भ बस्दैन भन्ने आम मान्यता छ । यस्ता पिल्स जथाभावी सेवन गर्दा महिलाको रजस्वला गडबड हुनुका साथै प्रजनन क्षमता नै कमजोर हुन सक्छ । आकस्मिक गर्भनिरोधक चक्कीलाई मकै–भटमासजस्तो साधारण ठानेर प्रयोग गर्ने डरलाग्दो ‘ट्रेन्ड’ बढेको र यसले बाँझो पन र स्त्री रोगीको संख्या बढेको भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् ।
गर्भपतनले कानुनी मान्यता पाएकाले धेरैपल्ट गर्भपतन गरेर मानसिक रुपमा विक्षिप्त हुने पनि धेरै छन् । सहज उपलब्धताका कारण सहवासपछि आकस्मिक गर्भनिरोधक चक्कीको सहारा लिने युवतीको संख्या सहरमा जति बढ्दो छ, यसको साइड इफेक्ट त्यो भन्दा डरलाग्दो हुने गरेको छ । गर्भ निरोधक चक्कीको सेवनपछि पनि गर्भ बसेर गर्भपतनका लागि स्वास्थ्य संस्था धाउनेको संख्या पनि त्यत्तिकै छ । गर्भनिरोधक चक्कीको प्रयोग वा एबोर्सनबाट स्वास्थ्यमा समस्या ल्याएपछि धेरै महिलाहरु स्वास्थ्य संस्थाको शाहारा लिने गरेका छन्
अहिलेको पुस्ताले ज्ञान र स्वतन्त्रता पायो तर दुइटै अपुरो भयो । ज्ञान यति मात्रै पाए कि कुन साधनको प्रयोग गर्दा गर्भ रहँदैन र स्वतन्त्रता त्यसलाई मात्रै ठाने कि ब्वाइफ्रेन्ड–गर्लफ्रेन्ड भएपछि यौन सम्बन्ध राख्दा केही फरक पर्दैन । अहिलेको पुस्ताले फाइदा मात्रै बुझ्ने र त्यसले ल्याउने समस्यालाई बेवास्ता गर्दै आएको भन्दै सचेत हुन चिकित्सकहरुको सुझाब छ । औषधि पसलहरु मा ३० बर्ष मुनिका र बिशेषगरि टिनेजरहरु इमर्जेन्सी पिल्स किन्न आउने गरेको बिक्रेताहरु बताउँछन् ।
आकस्मिक गर्भनिरोधक चक्की खाने वा अन्य तरिकाले गर्भपतन गर्नुलाई सहजै लिने डरलाग्दो प्रवृत्ति छ युवाहरूमा । गर्भपतनले शरीरमा गर्ने नोक्सानीबारे सचेत नहुँदा धेरैको स्वास्थ्य जोखिमउन्मुख भइरहेको छ । र सरकारले आकस्मिक गर्भ निरोधको चक्कीलाई जथाभावी बेचबिखन गर्न दिनु नहुने र ब्यबस्थित गर्नु पर्ने वरिष्ठ स्त्री रोग बिशेषज्ञ डा भोला रिजालको भनाइ छ ।
परिवार नियोजनसम्बन्धी परामर्श, औषधिको मात्रा र खाने विधि, गर्भावस्थाको सामान्य ज्ञान, यसका जटिलताका बारेमा जानकारी लिएर मात्रै आकस्मिक गर्भपतन चक्की सेवन गर्ने वा मेडिकल गर्भपतन गराउन निर्णयमा पुग्नु राम्रो हुन्छ । यसको प्रयोगले कतिपय महिलाको महिनावारी समेत गडबड हुने भएकाले गर्भ रोक्ने कुरामा प्रभावहीन भइदिन सक्छ ।
आकस्मिक गर्भनिरोधक चक्की लिनुअघि स्वास्थ्य अवस्थाबारे जानकारी लिनु जरुरी छ । लगातार यसको प्रयोगले पछि स्वास्थ्यमा जोखिम बढाउँछ । हार्माेनसँग सम्बन्धित औषधि भएकाले हार्माेनमै गडबड ल्याउन सक्छ । सामान्य शारीरिक प्रक्रियालाई यो औषधिले अनियमित बनाएर गर्भपतन गराउने भएकाले स्वास्थ्यमा जोखिम हुन सक्छ । पटक–पटक शरीरका नियमित प्रणालीमा बाह्य अवरोध सिर्जना गरिदिँदा मानसिकदेखि शारीरिक स्वास्थ्यसम्म जोखिम आइपर्न सक्छ ।
पटक–पटकको गर्भपतन अझ जोखिमपूर्ण हुन्छ । अनियमित रजस्वला भएका, स्टेरोइड थेरापी लिएका दमका रोगी, जन्डिस भएका, रक्तअल्पता भएका, उच्च रक्तचाप भएका, यौनरोग लागेका, पाठेघरमा संक्रमण भएका, मुटुरोग लागेकाले मेडिकल एबोर्सन गराउन मिल्दैन । तर, असुरक्षित रूपमा गरिने मेडिकल एबोर्सनमा यी कुरा जाँच तथा सोधखोज हुने सम्भावना कम हुन्छ ।
मेडिकल एबोर्सन होस् वा सर्जिकल, दुवैले शरीरलाई हानि गर्छन् । गर्भपतनलाई नै परिवार नियोजनको साधनजस्तो ठान्नु गम्भीर जोखिम निम्त्याउनु हो । लगातार गर्भपतन गर्नुले बाँझोपन निम्त्याउन सक्छ । पाठेघरमा इन्फेक्सन हुने, धेरै ब्लिडिङ हुने खतरा पनि हुन्छ ।
सन्तान नबसेको भनेर गुनासो गर्न आउनेमध्ये कतिपयको पाठेघरमा क्षति भइसकेको हुने स्त्री रोग बिशेषज्ञ हरुको भनाइ छ ।