
पाँचथर, निर्माणाधीन १५ मेगावाट क्षमताको हेवा¬–ए जलविद्युत् आयोजनाको व्यवस्थापन पक्षविरुद्ध उत्रिएका पाँच युवकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथर भारपा¬–४ का महेश अधिकारी, महेन्द्र हाङ सुरुम्बा, रणकुमार हाङ सुरुम्बा, टेकबहादुर हाङ सुरुम्बा र रङ्गीन हाङ सुरुम्बा रहेका छन् ।
जिल्लाको भारपा, याङनाम र नाङगेन गाविससँग सिमाना जोडिएको हेवा खोलामा आयोजना निर्माणका क्रममा क्षति भएको झोलुङ्गे पुल बनाइदिन माग गर्दै आएका उनीहरुलाई प्रहरीले उच्छृङ्खल गतिविधिमा संलग्न भएको भन्दै पक्राउ गरेको हो ।
आयोजनाको इन्टेक बनाउने क्रममा आयोजनास्थलसँगै रहेको भारपा¬–४ र याङनाम–१ लाई जोड्ने कादुरी झोलुङ्गे पुलको एकातर्फको जग क्षतिग्रस्त बनेको थियो । सो पुल मर्मत गर्न माग गर्दै केही दिनदेखि स्थानीयवासी आन्दोलित थिए ।
आयोजना निर्माणको जिम्मा लिएको पाँचथर पावर कम्पनीका प्रबन्ध निर्देशक पुष्पज्योति ढुङ्गानाले स्थानीयवासीको माग अनावश्यक बखेडा निकाल्ने खालको भएको प्रतिक्रिया दिनुभयो । रासस