३ चैत्र २०७२, बुधबार

काठमाडौँ, उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुदृढ हुने बताउनुभएको छ ।

som-prasad-Pande
रिपोर्टस क्लबद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा मन्त्री पाण्डेयले प्रधानमन्त्रीको विदेश भ्रमण परम्परागत भएकोले धेरै आशा गर्नु उचित नहुने विचार व्यक्त गर्नुभयो ।

उहाँले नेपाल र चीनको एक–आपसको सम्बन्धलाई मजबुत बनाउनुको साथै व्यापार तथा पारवहन, इन्धन र ऊर्जालगायतका विषयमा छलफल हुने जानकारी दिनुभयो ।

नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने विषयमा चीनले सहयोग गर्ने बताइसकेकाले त्यस विषयमा सम्झौता हुने मन्त्री पाण्डेयको भनाइ छ ।

उहाँले भ्रमणमा पोखरा एयरपोर्ट निर्माणमा सहयोग गर्ने, हिल्सा पुल निर्माणसहित विभिन्न विकास निर्माण सहयोगको विषयमा छलफल हुने जानकारी दिनुभयो ।

मुलुकमा आर्थिक समृद्वि नभएसम्म देश विकास नहुने भन्दै मन्त्री पाण्डेले नेपाली कच्चा पदार्थको उपयोग गर्ने गरी उद्योग स्थापनाको लागि झापाको दमक, हेटाँैडाको मयुरधाप, रुपन्देहीको मोतिपुर, बाँकेको नौवस्ता, कञ्चनपुरको देरीमा औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय भइसकेको बताउनुभयो ।
विदेशमा ७५ प्रतिशत उत्पादित बस्तु निर्यात गर्ने उद्योगको लागि १३ ठाउँमा सेज निर्माण गरिने जानकारी दिँदै भैरहवामा रहेको करिब ५२ रोपनी जग्गामा उद्योग सञ्चालनको तयारी भइरहेको मन्त्री पाण्डेयले जानकारी दिनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV