
साउदी अरेबीया नेतृत्वको सेनाको हवाई आक्रमणबाट यमनमा ४१ जना सर्वसाधारणको मृत्यु, ज्यान गुमाउनेमा अधिकांश बालबालिका ।
यमनमा साउदी अरेबीय नेतृत्वको सेनाले गरेका हवाई आक्रमणबाट ४१ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । आक्रमणको क्रममा अन्य ३५ जना घाइते भएका छन् ।
हाजा प्रान्तको व्यस्त बजार मुस्ताबामा भएको हवाई आक्रमणका कारण सर्वसाधारण नागरिक मारिएको प्रत्यक्षदर्शीले बताएका छन् । ज्यान गुमाउनेमा धेरै बालबालिका छन् । उनीहरुको शव यत्रतत्र छरिएको अवस्थामा देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । हाजा प्रान्त हुथी बिद्रोहीको नियन्त्रणमा रहेको क्षेत्र हो । हुथी बिद्रोही समर्थित समाचार संस्था साबाले भने हवाई आक्रमणमा परि ६५ जना सर्वसाधारण नागरिकको ज्यान गएको बताएको छ । साउदी अरेबीया नेतृत्वको गठबन्धन सेनाले गएको वर्षको मार्चको अन्तिमदेखि हुथी बिद्रोही विरुद्ध हवाई आक्रमण सुरु गरेको हो । गठबन्धन सेनाले हुथी बिद्रोही विरुद्धको कारबाहीमा यमनको सरकारी सेनालाई साथ दिँदै आएको छ । मार्चदेखि अहिलेसम्म हवाई आक्रमणको क्रममा यमनमा ६ हजार दुई सय भन्दा धेरै मानिसको ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ । गएको महिना मात्रै एक सय ६८ जना सर्वसाधारण नागरिकको ज्यान गएको र त्यसमध्ये दुई तिहाईको ज्यान जानुको कारण हवाई आक्रमण रहेको राष्ट्रसंघले जनाएको छ । पछिल्लो आक्रमणका विषयमा साउदी अरेबीया नेतृत्वको गठबन्धन सेनाले कुनै प्रतिक्रिया दिएको छैन ।
गएको जनवरीमा राष्ट्रसंघले यमनमा हुने गरेका हवाई आक्रमणमा धेरै जसो सर्वसाधारण नागरिक निशाना बन्ने गरेको भन्दै चिन्ता व्यक्त गरेको थियो । यस्ता केही आक्रमण मानवता विरुद्धको अपराध रहेको राष्ट्रसंघको भनाई छ ।