
इक्वेडरमा सैनिक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै २२ जनाको मृत्यु, बिमान इक्वेडरको पूर्वी प्रान्तको अमेजन क्षेत्रमा दुर्घटनाग्रस्त
दक्षिण अमेरिकी मुलुक इक्वेडरमा सैनिक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै २२ जनाको ज्यान गएको छ । विमान इक्वेडरको पूर्वी प्रान्त पास्टासाको अमेजन क्षेत्रमा दुर्घटनामा परेको हो ।
इक्वेडरका राष्ट्रपति राफाइल कोरेयाले ट्वीट गरेर घटनाको पुष्टी गरेका हुन् । दुर्घटनामा कोही पनि बाच्न सफल नभएको राष्ट्रपति कोरेयाले बताएका छन् । उनले ज्यान गुमाएकाहरुका परिवारमा समवेदना पनि व्यक्त गरेका छन् ।
ज्यान गुमाउनेमा चालक दलका दुई, एक प्राविधिक र १९ जना इक्वेडरियन सैनिक छन् । ती सैनिक प्यारासुटिङको तालिमका लागि गएका थिए । इजरायलमा बनेको आराभा विमान नेपाली समय अनुसार बिहान सवा १ बजे दुर्घटना भएको हो । दुर्घटनाको कारण भने थाहा भएको छैन ।