
‘आर्ट फर नेचर’ शीर्षकको प्रदर्शनीमा ४२ जना नेपाली तथा विदेशी कलाकारले वन्यजन्तुसम्बन्धी बनाएका चित्र तथा मूर्तिको प्रदर्शनी बौद्ध टुसालस्थित तारागाउँ म्यूजियममा आइतबारबाट सुरु भएको छ । प्रदर्शनीमा नेपालसहित ७ देशका कलाकारले चितवन निकुञ्ज घुमेर सौराहामा बसेर तयार पारेका कलाकृतिलाइ राखिएको छ ।
वनमन्त्री अग्नी सापकोटाले प्रदर्शनीको उद्घाटन गरेका हुन् । प्रदर्शनी शनिबारसम्म चल्नेछ । वन्यजन्तु पीडित उद्धार कोषको आयोजनामा डब्लुडब्लुएफ नेपाल, नेशनल ट्रष्ट फर नेचर कन्जर्भेशन र ह्यूमनी सोसाइटी इन्टरनेशनलको सहयोगमा गरिएको प्रदर्शनीमा बेलायत, जर्मनी, भारत, अमेरिका, मेक्सिको अष्ट्रेलियाका छ जना र ३६ जना नेपालका कलाकारका प्रकृतिसम्बन्धी कलाले नेपालको प्राकृतिक सौन्दर्य, जैविक विविधता, जंगली जनावर तथा सांस्कृतिक विविधतालाई कलात्मक रुपमा चिनाउन सफल रहेको आयोजकले बताए । प्रदर्शनीमा मनुजबाबु मिश्र, शशी शाह, रागिनी उपाध्याय, गेहेन्द्रमान अमात्य, ठाकुरप्रसाद मैनाली, राजन काफ्ले, डा.लय मैनाली, हरिप्रसाद शर्मा, गोपाल कलाप्रेमी, भीम श्रेष्ठ, सुर्दशन राणा, सुनिता राणा, इन्दिरा श्रेष्ठ, हरिराम अधिकारी, हिरालाल डंगोल, सन्जु शाही, ताराप्रसाद ओझा, नीरा जोशी, विजय मर्हजन, प्रमित ढकाल, ज्योतिप्रकाश बिके लगायत कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको छ । ‘प्रदर्शनीको उद्देश्य प्रकृतिसम्बन्धी कलाको प्रचार प्रसार गराउने र कलाबाट प्रकृति संरक्षणमा सहयोग पुर्याउनु रहेको छ । साथै यो प्रदर्शनीबाट नेपाली प्रकृतिसम्बन्धी कलाको अन्तर्राष्टिय पहिचान बनाउनु पनि हो । साथै नेपालको प्राकृतिक सौन्दर्यता र त्यसको विविधतालाई चिनाउने लक्ष्य रहेको छ ।’