३ चैत्र २०७२, बुधबार

 

फागुन २९ गते शनिबार । राति १२ः१५ बजे । विराटनर जोगबनी नाकाबाट नयाँदिल्ली गुड्ने सीमाञ्चल एक्सप्रेस रेल गुड्न ६ घन्टा ढिलो भइरहेको थियो ।

सीमा प्रहरीचौकी, रानीका इन्चार्ज सई विकास खत्रीलाई भारतीय प्रहरीबाट खबर आयो – ‘जोगबनी रेलवे प्लेटफर्ममा ७ युवती छन्, हेर्दा शंकास्पद लाग्छ, बेचबिखन हो कि ?’

खत्री तुरुन्तै नजिकैको रेलवे प्लेटफर्म पुगे ।

kuwet

नभन्दै त्यहाँ सात युवती समूहमा रहेछन्, उनले देखिहाले । सई खत्रीले ती युवतीलाई सोधिहाले, ‘तपाईंहरु कहाँ जान लाग्नुभएको ?’ ‘नयाँदिल्ली ।’ उनीहरुले उत्तर दिए ।

‘किन जान लाग्नुभएको ?’ु

‘दिल्लीमा दिदीको ब्युटीपार्लर छ, हेर्न जान लागेको ।’

खत्रीले सबैलाई एक–एक गरेर यो प्रश्न सोधे । सातै जनाले यही उत्तर दिए ।

उत्तर बनावटी थियो भन्ने लख काट्न प्रहरीलाई बेर लागेन ।

खत्रीले सबैको नागरिकता मागे । सातै जनाको फरक–फरक ठाउँको नागरिकता देखेपछि पक्का भयो, ती युवती एकले अर्कालाई राम्ररी चिन्दैनन् ।

सई खत्री झन् शंकालु भए ।

रेलको टिकट पनि त्यही दिन काटिएको थियो सबैको । त्यो देखेपछि सई खत्रीको कमान्डमा गएका प्रहरीले उनीहरुलाई तत्कालै नियन्त्रणमा लिए । केरकार गर्दा पक्का भयो, उनीहरुलाई मानवतस्करले कुवेत लैजान गैरकानुनी बाटो प्रयोग गर्ने तयारी गरेका रहेछन् ।

नयाँदिल्ली हुँदै गैरकानुनी बाटो प्रयोग गरेर आफूहरुलाई खाडी मुलुक कुवेत लैजान लागिएको थाहा पाएपछि सबै युवती छाँगाबाट खसेझैं भए ।

विदेश गएर कमाउने सपना काँचको सिसाझैँ एकैचोटि चकनाचुर भयो ।

मंगलबार इलाका प्रहरी कार्यालय, रानीमा आफन्तले जिम्मा लिएपछि घर फर्किनुअघि चोरबाटोबाट कुवेत जानबाट जोगिएका ती युवती फूलमायालाई सराप्दै थिए ।

‘खान–लाउन समस्या परेकाले दुई पैसा हुन्छ भनेर कुवेत जान लोभिएँ,’ देवीमाया बस्नेतले भनिन्, ‘गलत बाटो हिँडेको रहेछु भन्ने थाहा भयो ।’

उक्त घटनामा मोरङ प्रहरीले सुनसरी, पाँचकन्याकी ३१ वर्षीया फूलमाया तामाङ र सुनसरी, इनर्वा–२ का रोहित दर्नाललाई मानव बेचबिखनमा मुद्दा चलाएको छ ।

पतिले अर्कैसित घरजम गरेर बिचल्ली पारिदिएपछि सुनसरी, पाँचकन्याकी देवीमाया छोरो हुर्काउन र दुई छाक टार्न हम्मे प¥यो ।

हिम्मतिली देवीमायाले भैंसी पालेर दूध बेचिन्, सब्जी उब्जाएर बेचिन् । दुई–चार पैसा आम्दानी त भयो तर यसरी पनि गुजारा सहज भएन ।

उनले टोल–छिमेकका भाँडावर्तन पनि मस्काइन् । छोराको पालनपोषण र गुजाराका लागि देवीमायाले सक्दो मजदुरी र मेहनत गरिन् । तैपनि अभावले छाडेन ।

देवीमायाको दुःख छिमेकी फूलमाया तामाङलाई राम्रै थाहा थियो । दुःखजिलो गरी गुजारा गरिरहेकी देवीमायालाई फूलमायाले प्रस्ताव गरिन्, ‘एक रुपैयाँ पनि खर्च लाग्दैन, कुवेत जाऊ, महिनाको कम्तीमा २५ देखि ३० हजार रुपैयाँ कमाइन्छ ।’

फूलमायाको प्रस्ताव उनलाई ‘ढुंगा खोज्दा देउता मिल्यो’ भनेझै लाग्यो । छिमेकी दिदीले पक्कै कुभलो चिताएकी छैनन् भनेर उनले यसबारे माइतीघरमा सरसल्लाह गरिन् ।

दुई–चार पैसा कमाए छोराको भविष्य उज्ज्वल हुने सोचेर सबैले उनलाई कुवेत जान अनुमति दिए । छोरालाई माइतमै राखेर आफू कुवेत जाने निधोमा पुगिन् उनी ।

फूलमायाले देवीमायालाई काठमाडौं बोलाइन् । सरसापट गरेर देवीमाया अलिअलि पैसाको जोहो गरेर धरानबाट काठमाडौंको बस चढिन् । बसको लामो यात्रामा देवीमायाले कुवेतमा कमाउने पैसाले छोरालाई राम्रो स्कुलमा पढाउने, टुटे–भत्केका घर मर्मत गर्ने र मिठो–मसिनो खाने योजना बनाउँदै निदाइन् । काठमाडौं पुगेपछि कुवेत जाने अन्य पाँच जनासित देवीमायाको भेट भयो । सबैको उस्तै सपना, उही योजना थियो ।

बिनाखर्च कुवेत लैजाने, होटलमा बसेको, खाएको पनि तिर्न नपर्ने, सबैलाई लाग्यो – फूलमाया दिदी क्या गजबकी १

धरानबाट काठमाडौं पुगेकी देवीमायालाई विराटनगर पुगेर रेलबाट नयाँदिल्ली हुँदै कुवेत जाने बताएकी थिइन् फूलमायाले । देवीमायाले अचम्म मानेर सोधिन्, ‘पासपोर्ट, भिसा झरेकै छैन, बिनाकागज कसरी जानु ?’ फूलमाया बाठी थिइन् । पट्याइहालिन, ‘सबै कागज दिल्लीमै आउँछ, नेपालबाट कुवेत जाने श्रमस्वीकृति छैन ।’

गाउँले दिदीले भनेको नपत्याऊँ कसरी ? देवीमायाले नाइँनुकुर गरिनन् । देवीमायासहित कुवेत जान हिँडेका पाँच युवती फूलमायासँगै गाडी चढेर विराटनगर आइपुगे । तर, प्रहरीले यो सबै कुरा थाहा पाएर उनीहरुलाई बेचिनबाट जोगायो । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV