३ चैत्र २०७२, बुधबार

दमक । वार्षिक २४ अर्बको धान तथा चामलको आयातलाई प्रतिस्थापन गर्न कृषिमा प्रविधिको प्रयोग, आधुनिकीकरण र यान्त्रीकरणका लागि सरकारले विशेष योजना सुरु गरेको छ ।  जिल्ला कृषि विकास कार्यालय झापाले अनुदानमा दिएको धान रोप्ने मेसिनको शुभारम्भ गर्दै कृषि विभाग बाली विकास निर्देशनालयका कार्यक्रम निर्देशक डिलाराम भण्डारीले सो जानकारी दिनुभएको हो । उहाँले परम्परागत कृषि प्रणालीलाई विस्थापित गर्न किसानलाई प्रविधिमैत्री बनाउने योजना सरकारको रहेकाले यसै अनुसार विशेष कार्यक्रम सञ्चालन गरिँदै आएको बताउनुभयो ।

chaite dhan

झापाको गोलधाप–६ मा रहेको भुतेनी खोला जलउपभोक्ता समितिले प्राप्त गरेको धान रोप्ने मेसिनले धान रोपेको हेर्ने किसानको भीडलाई सम्बोधन गर्दै भण्डारीले नेपाल सरकारले कृषिको आधुनिकीकरणका लागि प्रविधिको उच्चतम् प्रयोग गर्ने नीति लिएको र त्यो ग्रामीण किसानसम्म पहुँच पु¥याइने जनाउनुभयो ।
सरकारले मल, बीउमा मात्र नभएर औजारलगायतमा कृषिजन्य उपकरणसमेत उपलब्ध गराउने नीति लिएको बताउनुभयो । कृषि प्रधान देश नेपालमा वार्षिक २४ अर्ब रुपियाँको धान चामल आयातलाई प्रतिस्थापन गर्न सरकारले कृषिको आधुनिकरणमा जोड दिएकाले यसको लाभ लिनका लागि किसानलाई उहाँले आग्रह गर्नुभयो ।
यसैगरी, क्षेत्रीय कृषि निर्देशक डा. हरिकृष्ण श्रेष्ठले कृषिको विकासका लागि प्रविधिको प्रयोगका लागि किसानलाई आकर्षित गर्ने योजनाबाट किसानले लाभ लिनुपर्नेमा जोड दिनुभयो । प्रविधिको प्रयोगले लागत कम गर्दै उत्पादित वस्तुलाई प्रतिस्पर्धी बनाउन सकिने उल्लेख गर्नुभयो ।
पूर्वाञ्चल विकास क्षेत्र कृषिमा राम्रो र सम्भावना बोकेको जिल्ला भएकाले प्रविधिको प्रयोगको अगुवा गर्नुपर्ने उहाँले बताउनुभयो ।
झापाका प्रमुख जिल्ला अधिकारी मदनकुमार भुजेलले सरकाले दिने अनुदानको सही सदुपयोग गर्नुपर्ने र वास्तविक किसानसम्म पहुँच पुग्नुपर्नेमा जोड दिनुभयो । हरेक क्षेत्रमा नयाँ प्रविधि भित्रिने क्रम बढेको जनाउँदै समयसापेक्ष प्रविधिको प्रयोग गर्न नसकिए मुलुकमा विकास सम्भव नरहेको उहाँले बताउनुभयो ।

 

LIVE TV