
पाँचथर। पाँचथरको रविबजारमा चुरोट र मोबाइल रिचार्ज कार्डको होलसेल बिक्रेता दिनेश रेग्मी सोमबार बेलुकादेखि बेपत्ता छन् । छिमेकी जङ्गलमा उनको मोटरसाइकल र मोबाइल भेटिएको छ । स्थानीयवासीका अनुसार २७ वर्षीय रेग्मी पसलबाट सोमबार दिउँसो ४ बजेतिर छिमेकी सराङडाँडा गाविसमा होम टिभी बिग्रेकाले बनाउन खबर आएको भन्दै मोटरसाइकलमा त्यसतर्फ लागेका थिए । रवि बजारबाट हिँडेपछि सम्पर्कविहीन रहेका उनको मोटरसाइकल १५ मिनेट जतिको दूरीमा रहेको छिमेकी इलाम जिल्लाको फुँयतप्पा–७ को राउते भन्ने जङ्गलमा लडाएको अवस्थामा भेटिएको छ ।
सोमबार बेलुका आइपुग्ने भन्दै हिँडेका उनी अबेरसम्म नफर्केपछि छिमेकीले उनको पसल भने बन्द गरिदिएर मङ्गलबार बिहानै प्रहरीमा खबर गरेका थिए । स्थानीय बासिन्दासँगको सहकार्यमा उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रविका इन्चार्ज गीतनारायण चौधरीले जानकारी दिनुभयो । रासस