३ चैत्र २०७२, बुधबार

सिम्जुङ (गोरखा) । भूकम्पले घर ध्वस्त बनाएपछि टहरामा बस्दै आएकी दिलकुमारी लामिछानेले त्यही टहरामा होमस्टे (घरवास पर्यटन) चलाएर जीविकोपार्जन गर्न थालेकी छन् ।
गत बैशाखको गोरखा भूकम्पमा परी यस गाउँका अधिकांश घर भत्किएका र होटल रेस्टुराँसमेत नहुँदा यहाँ आउने पर्यटकको सुविधाका लागि वसोवासको समस्या हुन नदिन उनले आफू बस्ने अस्थायी घर टहरामा होमस्टे सञ्चालन गरेकी हुन् ।

25047_10151264742644350_1190094976_n
विभिन्न सङ्घसंस्थामा कार्यरत कर्मचारी, राहत र पुनःनिर्माणमा संलग्न सहयोगी संस्थाका पदाधिकारी र पर्यटकका लागि बस्ने होटल नहुँदा एक घण्टा तल झरेर बालुवाबजार वा तीन घण्टा उत्तर–पश्चिमको सिरानकोट, भच्चेकबजार पुग्नुपर्ने वाध्यता रहेको थियो ।
भूकम्प आउनु केही समयअघि तीनतले आफ्नो घरमा सातवटा कोठालाई होमस्टेको रुपमा सुरु गरेकी उनी भूकम्पले घर पूरै ध्वस्त बनाएपछि केही समय त आफैँ कता बसरी बस्ने भन्ने चिन्ताले सतायो । विस्तारै विपद्लाई सहँदै उनले जस्तापाताले घेरेर आफू बस्न बनाएको टहरामै तीन कोठा पाहुनालाई छुट्याएकी हुन् ।
सरकारले भूकम्पपीडितका लागि उपलब्ध गराउने सहयोग छिटो पाउन सके पक्की घर बनाउने र त्यसमा अलग्गै होमस्टे सञ्चालन गर्ने योजना रहेको उनका श्रीमान चन्द्र लामिछानेले बताए ।
गाउँमा पहिले खानेपानीको ठूलो समस्या रहँदै आएकामा सन् २०१३ देखि वाटर एड नामक संस्थाले नेपाल स्वास्थ्यका लागि पानी (नेवा) ले गाउँ खानेपानी तथा सरसफाइ समन्वय समिति (भिवासिसी)को सहकार्यमा खानेपानीको व्यवस्था गरेपछि अहिले टोलटोलमा सार्वजनिक धाराहरुमा चौबिसै घण्टा पानीको सुविधाले होमस्टे सञ्चालनमा सहजता आएको दिलकुमारी बताउँछिन् ।
‘पहिले खानेपानीका लागि टाढाबाट ल्याउनु पर्दा पाहुनालाई सेवा सुविधा दिन र घरभित्र–बाहिरको वातावरण सफासुग्घर राख्न कठिनाइ थियो’ उनले भनिन्, ‘अहिले खानेपानीको सुविधा र सरसफाइले गर्दा पाहुनाहरु होमस्टेमा बस्न रुचाएका छन् ।’
संस्थाले खानेपानीसँगै सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिएपछि अहिले सिम्जुङको वातावरण स्वच्छ र सफा देखिन्छ । खासगरी दलित वस्तीमा शौचालयको अभाव र जनचेतना नहुँदा खुल्ला दिसापिसाब गर्ने परिपाटीको अहिले अन्त्य भएको नेवाकी सहजकर्ता समिष्ठा ढकालको कथन छ ।
पहिले त घरमा चिनेजानेका आफन्त मात्रै पाहुनाको रुपमा आउने उनको घरमा अहिले कहिल्यै चिनजान नभएका पर्यटक, कर्मचारीहरु पनि बस्ने बास र खाना खान खोज्दै आउन थालेका छन् । होमस्टेले गर्दा अहिले धेरैजनासँग परिचय, चिनजान हुने अवसर मिलेको बताउँदै चन्द्र भन्छन्, ‘आर्थिक हिसाबले मात्र नभएर नयाँ मानिससँग चिनजान, घुलमिल हुने र नयाँ कुराहरु जान्ने बुझ्ने अवसर पनि मिलेको छ ।’
बुद्ध हिमाल सामुदायिक होमस्टेकी अध्यक्षसमेत रहेकी दिलकुमारी पहिले आफूले होमस्टे राख्दा अनेक टिप्पणी गर्नेहरु पनि अहिले पक्की घर बनाएर होमस्टे सञ्चालन गर्न चासो देखाएको बताउँछिन् । हाल सिम्जुङ गाविसको झ्याँवामा तीनवटा र सिरानडाँडामा तीनवटा घरमा होमस्टे सञ्चालन गरिएको छ ।
भूकम्पपछि गाउँको पुनःनिर्माणका लागि सरकारी, दातृ निकाय र विभिन्न सहयोगी संस्थाहरुले आर्थिक तथा भौतिक सहयोग गर्न थालेकाले ती निकायहरुबाट आउने कर्मचारी वा अन्य पदाधिकारीहरुलाई बस्न खानको सुविधाका लागि होमस्टे निकै उपयोगी रहेको स्थानीय समाजसेवी ऋषिराम लामिछाने बताउनुहुन्छ ।
गोरखा भूकम्पको केन्द्रबिन्दु वारपाक जाने कतिपय पर्यटकहरु पनि यही बाटो भएर जाने गर्दछन् । सिम्जुङबाट करिब तीन घण्टाको पैदल यात्रामा वारपाक पुग्न सकिन्छ ।
गोरखा सदरमुकामबाट ३५ किमी उत्तरमा पर्ने यो गाउँबाट माथितिर अन्नपूर्ण हिमश्रृङ्खलादेखि मनास्लु, हिमचुली, गणेश हिमालको दृश्यावलोकन गर्न पाइनुको साथै बौद्ध हिमालको चिसो बतास, तलतिर दरौँदी र चेपे नदीको सुसाहट प्राकृतिक सुन्दरताले भरिपूर्ण रमणीय पर्यटकीय स्थलको रुपमा परिचित छ ।
खैरेनी–गोरखा सडकबीचको १२ किलो हुँदै कच्चीबाटोमा बालुवासम्म गाडीमा दुई घण्टाको पैदल यात्राबाट सिम्जुङ पुग्न सकिन्छ भने त्यहाँबाट तीन घण्टाको उकालो चढेपछि सिरानडाँडा पुगिन्छ । भच्चेकसम्म बसमा गई त्यहाँँबाट एक घण्टा पैदल बाटोबाट पनि सिरानडाँडा पुग्न सकिन्छ । हरियो चिया बगान, भूइँ स्याउलगायत विभिन्न जडिबुटीहरु, जङ्गली जनावर र चराचुरुङ्गीसँग साक्षात्कार गर्न पाइने भएकाले स्वदेशी मात्र होइन विदेशी पर्यटकको पनि सिरानडाँडामा घुइँचो लाग्दछ ।
समुदायबाट सञ्चालित तालिम प्राप्त होमस्टे सञ्चालकहरुले पाहुनालाई गर्ने स्वागत सत्कार, पारिवारिक व्यवहार, सांस्कृतिक सद्भावले पाहुनाको मन सजिलै जित्न सक्ने उपयुक्त वातावरण छ । गाउँलेहरुको आत्मीय मायाले पस्किएको स्थानीय परिकार, अर्गानिक तरकारी, समयअनुसारका फलफूल, सेल रोटी खाँदै सांस्कृतिक कार्यक्रममा रमाउँदा पर्यटकहरु समय बितेको पत्तै पाउँदैनन् । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV