२ चैत्र २०७२, मंगलवार

काठमाडौँ,  बैशाख १२ को भुकम्पले सिन्धुपाल्चोकका ५ सय ४७ विद्यालय ध्वस्त भयो । जिल्लाका सबै विद्यालय ध्वस्त भएपछि विद्यार्थीहरु कष्टसँग पढ्न बाध्य भइरहेका छन् । पुस माघ को चिसो र फागुन चैतको गर्मीमा समेत विद्यार्थीहरु अस्थाई टहरामा बसेर पढ्नु पर्दा विद्यार्थीहरु समस्यामा छन् । यसैबीच जिल्लाको बतासेमा अवस्थित कालिकादेवी उच्च माध्यमिक विद्यालयको छिट्टै पुननिर्माण हुने भएको छ ।

school

सदरमुकाम नजिकै रहेको कालिकादेवी उच्च माध्यमिक विद्यालय बतासेको सबै भवन भुकम्पले ध्वस्त भएपछि विद्यार्थीहरु कष्टसँग अस्थाई टहरामा बसेर अध्ययन गर्दै आएका छन् । अस्थाई टहरामा पनि विद्यार्थीहरुलाई अध्ययन गर्न समस्या भएको विद्यार्थीहरुको गुनासो छ । अहिले केही सहयोगी दाताहरुको सहयोगमा विद्यालयको पुननिर्माण हुने भएपछि अभिभावक,शिक्षक र विद्यार्थीहरु खुसी भएका छन् । स्थानीय सुर्य सापकोटाको पहलमा हिमालयन परिवार इभीले विद्यालय निर्माणका लागि १७ लाख २० हजार रुपियाँ सहयोग गरेको छ ।

विद्यालयमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा हिमालयन परिवारका अध्यक्ष हरिबहादुर न्यौपानेले विद्यालयलाई चेक हस्तान्तरण गर्नुभएको थियो । दुःख गरेर निर्माण गरेको विद्यालय ध्वस्त भएपछि आफूहरु निकै चिन्तामा परेको बताउँदै विद्यालयका संस्थापक देवीनाथ पराजुलीले अहिले दाताको सहयोगमा पुननिर्माण हुने भएपछि निकै खुशी लागेको बताउँनुभयो ।

सहयोग प्राप्त भएपछि अब भुकम्प प्रतिरोधी भवन निर्माण गरिने विद्यालयका प्रधानध्यापक धर्मदत्त सापकोटाले जानकारी दिए । ३ सय ६० जना विद्यार्थीहरु अध्ययन गर्ने यो विद्यालयमा भुकम्पले सबै भवन ध्वस्त भएको थियो । भुकम्पपछि सिन्धुपाल्चोकका सबै विद्यालय भवन ध्वस्त भएपनि अहिलेसम्म जम्मा १ सय ७७ विद्यालय मात्रै पुननिर्माणका लागि शिक्षा कार्यालयसँग विभिन्न संघ संस्थाहरुले सम्झौता गरेका छन् ।

 

LIVE TV