२ चैत्र २०७२, मंगलवार

नेपाललाई टुक्राइ छाड्छौँ-मधेस देश बनाइ छाड्छौँ

काठमाडौँ,  स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्ताहरूले मधेसलाई अलग बनाएरै छाड्ने घोषणा गरेका छन् ।

ck-supporter-program-1-650x386

उनीहरूले नेपाली राज्यसत्ताले जतिसुकै आफूहरूलाई यातना र दमन गरेपनि आफ्नो लक्ष्यबाट पछि नहट्ने चेतावनी दिए ।

अलग मधेस देशका लागि जस्तो सुकै दमन सहन गर्न तयार रहेको उनीहरूले बताएका छन् ।

सप्तरी जिल्लाको राजविराज र भारदहबाट पक्राउ परेका गठबन्धनका कार्यकर्ताहरू सोमबार विशेष अदालतबाट २५–२५ हजार धरौटी तिरेर रिहा भएपछि आज (मंगलबार) मधेस मिडिया हाउसमा पत्रकार सम्मेलन गरी उनीहरूले मधेसलाई नेपाली राज्यको उपनिवेशबाट मुक्त गराएरै छाड्ने चेतावनी दिएका हुन् ।

कार्यक्रममा मोहम्मद उस्मानले यो देशलाई शान्तिको मार्गमा लाने हो भने मधेसी जनतालाई अधिकार दिनैपर्ने जिकिर गरे । उनले आफूहरू प्रहरी हिरासतमा हुँदा सुरक्षाकर्मीहरूले अमानवीय व्यवहार गर्नुका साथै ज्यान मार्ने धम्कीसमेत दिएको आरोप लगाए ।

उनले एक सुरक्षाकर्मीको भनाईलाई उदृत गर्दै भने, ‘अब यो देशमा नेपाली सेना परिचालन हुन्छ र सीके राउतजस्ता विखण्डनकारीलाई तह लगाउँछन् ।’

स्वतन्त्र मधेस गठबन्धनका एक जना अभियन्ता श्यामसुन्दर मण्डलले आफूहरू महात्मा गान्धीको मार्गबाट नै शान्तिपूर्णरुपले मधेसलाई स्वतन्त्र बनाउने दाबी गरे । उनले आफूहरूलाई राज्यसत्ताले जति पनि विखण्डनकारी भनेपनि आफूहरूले उठाएको माग सही नै रहेको जिकिर गरे ।

स्वतन्त्र मधेस गठबन्धनका केन्द्रीय सदस्य डा.वीरेन्द्र यादवले मधेसलाई अलग देश बनाइ छाड्ने चेतावनी दिए । उनले भने, ‘हामी विखण्डनकारी होइनौँ । राष्ट्र निर्माता हौँ । कसैले हामीलाई विखण्डनकारी भने पनि हामी राष्ट्र निर्माता हौँ । अलग मधेस देश बनाइ छाड्छौँ ।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV