
आन्तरिक विषयमा छिटो निर्णय लिन प्रधानमन्त्री ओलीलाई भारतीय विदेश सचिव जयशंकरको सुझाव, नेपालको विकास र स्थायित्वका विषयमा छलफल ।
पोखरामा आयोजना गरिएको सार्क मन्त्रीस्तरीय बैठकमा भाग लिन आएका भारतीय विदेश सचिव एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्नुभएको छ । संविधान निर्माण हुनै लाग्दा नेपाल आएर कडा चेतावनीयुक्त भाषा बोलेका एस जयशंकरले प्रधानमन्त्री ओलीसंगको भेटमा ओलीको निर्णय क्षमताको प्रशंशा गर्नुभएको हो ।
विगतमा नेपालका तर्फबाट निर्णय लिन ढिलाइ हुँदा दुई देशबीचका थुप्रै विषयहरु अल्झिरहेको भन्दै भारतीय विदेश सचिव जयशंकरले ओलीको निर्णय क्षमताबाट त्यसको समाधान हुने आशा व्यक्त गर्नुभयो । नेपालको आन्तरिक समस्या हल गर्ने विषयमा पनि छिटो निर्णय गर्ने क्षमता देखाउन जयशंकरले प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभयो ।
भारत भ्रमणमा प्रधानमन्त्री ओलीको निर्णायक क्षमता आफुहरुले अनुभव गरेको जानकारी दिदै जयशंकरले नेपालको आन्तरिक राजनीतिमा बाँकी रहेका समस्या हल गर्ने विषयमा पनि प्रधानमन्त्री ओलीले छिटो निर्णय लिने विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्रीका वैदेशिक मामला विज्ञ गोपाल खनालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले भारत भ्रमणपछि दुई देशबीच रहेका असमझदारीहरु सुल्झिसकेको भन्दै भारतको बाँकी चासो सम्वोधन गर्न नेपाल तयार रहेको उल्लेख गर्नुभएको थियो । जयशंकरले भारतको चासो नेपालको विकास र स्थायित्वमा मात्रै रहेको बताएको र नेपालको आन्तरिक राजनीतिका विषयमा खासै चर्चा नभएको खनालले बताउनुभयो ।