
राष्ट्रिय सुरक्षा परिषदको भूमिकाको प्रधानमन्त्री ओलीद्धारा प्रशंशा, जनतामा सुरक्षित छु भन्ने विश्वासमा कमी आए आन्तरिक सुरक्षा कमजोर हुने ।
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै जटिल अवस्थामा पनि राष्ट्रिय सुरक्षा र आन्तरिक सुरक्षालाई खलल पु¥याउन नदिन अत्यन्त उन्नत सोच, समझदारी, संकल्प र सुझबुझ ब्यबहार आबश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको १५ औँ वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले जनतालाई सर्वाेपरी राख्ने आधुनिक, सभ्य र लोकतान्त्रिक समाजका मूल्य मान्यतालाई नेपाली समाजले आत्मसात् गरेर राष्ट्रिय सुरक्षामा बलियो जग खडा बताउनुभयो । जनतामा सुरक्षित छु भन्ने विश्वासमा कमी आएमा आन्तरिक सुरक्षा कमजोर हुन सक्छ भन्ने पक्षलाई बुझ्न जरुरी रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले संविधानले नयाँ युगको प्रारम्भ गरे पनि त्यो उपलब्धिलाई विपरीत देखाउने प्रयास भएकामा असन्तुष्टि व्यक्त गर्नुभयो । देशको अवस्था, सुरक्षास्थितिमा परिषद्बाट भएको कामको प्रशंसा गर्दै उहाँले खोजअनुसन्धान, नीतिनिर्माण र विश्लेषणको पाटोमा अझ धेरै काम गर्नुपर्ने बताउनुभयो ।
रक्षा सचिव एवम् परिषद्का सदस्यसचिव जयमुकुन्द खनालले राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक मस्यौदा गरेर सम्पादनका लागि कानुन मन्त्रालयमा पठाइसकेको जानकारी दिनुभयो । नेपालको संविधानले प्रधानमन्त्रीको अध्यक्षतामा नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा तथा नेपाली सेनाको परिचालन र नियन्त्रणका लागि मन्त्रिपरिषद्लाई सिफारिस गर्न परिषद्को व्यवस्था गरेको छ ।