२ चैत्र २०७२, मंगलवार

सिन्धुपाल्चोकको तातोपानी स्थित लार्चामा चिनियाँ सहयोगमा निर्माण भइरहेको सुख्खा बन्दरगाहको निर्माण कार्य एक वर्षदेखि ठप्प भएको छ ।

bandar
भूकम्प र त्यसपछिका परकम्पका कारण बाह्रबिसे–तातोपानी सडकखण्ड तथा त्यस क्षेत्रका सम्पूर्ण भौतिक संरचना ध्वस्त भएपछि सुख्खा बन्दरगाहको काम ठप्प भएको हो । चिनियाँ निर्माण कम्पनी ‘बेइजिङ् रियल स्टेट ग्रुप’ले २६ महिनामा सम्पन्न हुने गरी २०६९ पुसमा तत्कालीन चिनियाँ राजदूत याङ हाउ लान र तत्कालीन वाणिज्य सचिव लालमणि जोशीबाट संयुक्त रुपमा शिलन्यास भएको थियो ।

तर तीन वर्ष भइसक्दा पनि काम अघि बढ्न सकेको छैन । लिपिङदेखि सो स्थानसम्मको ६.५ किलोमिटर सडकलाई ९ मिटर चौडाई गरी फराकिलो बनाउनको साथै भोटेकोसीमा ११२ मिटर लामो पक्की पुलको निर्माण भइरहेकामा २०७१ साउन १० गते आएको बाढीले पुल बगाउँदा रु एक करोड १० लाख बरारको क्षति पुगेको थियो ।

भूकम्पबाट ठाँउ ठाँउमा पहिरो गएपछि निमार्ण गरिएको सडक तथा पुलेसो बिग्रिएको बताउँदै चिनियाँ रियल स्टेट्का प्रतिनिधि सुलोचना लामिछानेले सुरक्षा नभएका कारण करोडाँै मूल्य बराबरको निमार्ण सामाग्री हराएको बताउनुभयो । नाका खुलेपछि नदीमा बेलीब्रिज राखेर भए पनि काम सुरु गरी केही महिनाभित्रै सम्पन्न गरिने उहाँको भनाइ छ ।

सीमा प्रहरी चौकी र भन्सारस्थित शसस्त्र प्रहरीले सुरक्षा दिइरहेको प्रहरी नायव उपरीक्षक विश्व अधिकारीले बताउनुभयो । रोकिएको काम सुचारु गर्न चिनियाँ राजदूतसँग पटक÷पटक कुरा उठाएको र वाणिज्य मन्त्रालयलाई पत्राचार गरेको इन्टर मोडल यातायात व्यवस्था समितिका निर्देशक लक्ष्मणबहादुर बस्नेत बताउनुहुन्छ ।

नाका खुलाउन चिनियाँ पक्ष सकारात्मक देखिएको र प्रधानमन्त्री केपी शर्मा ओलीको चैत पहिलो सातादेखि हुने चीन भ्रमणमा छलफल हुने वाणिज्य मन्त्रामलयका सहसचिव रविशङ्कर संैजूले जानकारी दिनुभयो । तत्कालीन विनिमय दर अनुसार रु एक अर्ब २० करोड ६८ लाखमा निमार्ण भइरहेको सो बन्दरगाह ५०० रोपनी क्षेत्रफलमा विस्तार हुनेछ ।

यहाँ १५८ ठूला कन्टेनर जाँचपास गर्नसक्ने यार्ड निर्माण हुनेछ । साठी देखि १०० मेट्रिक टनसम्मको सामग्री एकैपटक तौलिने यन्त्र जडान गरिनेछ भने भन्सार, पशु, कृषि क्वारेन्टाइन, गोदाम घर, जाँचपास यार्ड, चेकपोस्ट, बैंक र आवाससहितको संरचना समेत निर्माण गरिनेछ । रासस

 

LIVE TV