२ चैत्र २०७२, मंगलवार

म्याग्दी, सुत्केरी तथा गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन म्याग्दीमा तीन वर्षको अवधिमा रु पाँच करोड भन्दा बढी रकम उपयोगमा ल्याइएको छ ।

malnutrition
सन् २०१२ देखि स्थानीय गैरसरकारी संस्था मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा परियोजनाले रु पाँच करोड ६२ लाख ४५ हजार ५२७ खर्च गरेको हो । परियोजनाले आफ्नो कार्य सञ्चालन अवधिमा रु ६ करोड ६५ लाख ३ हजार ५८५ बजेटमध्ये उक्त रकम खर्च गरेको परियोजनाका जिल्ला कार्यालय संयोजक पासाङदेवी तामाङल जानकारी दिनुभयो । परियोजनाले स्वास्थ्य सेवामा पहुँच वृद्धि, पोषण, सरसफाइ, व्यवहार परिवर्तनमा सुधार ल्याउनका लागि बजेट परिचालन गरेको उहाँले बताउनुभयो ।

युएसएआइडीको आर्थिक सहयोगमा सञ्चालित परियोजनाले जिल्लाको एक नगरपालिकासहित ३५ वटै गाविसमा पोषण, सरसफाइ, स्वास्थ्य लगायतको क्षेत्रमा जनचेतामूलक गतिविधि गर्दै आएको छ । परियोजनाले जिल्लाका विभिन्न गाविसमा पूर्ण सरसफाइका सूचकको पहुँच पु¥याएर ६१९ घरधुरीलाई सफा घर प्रमाणीकरण गरेको थियो । परियोजनाले चार वर्षको अवधिमा दुई हजार ६१३ पटक पोषिलो जाउलो प्रदर्शनी, सात हजार ६९२ जना आमासँग घरमै पुगेर स्वास्थ्य, सरसफाइ र पोसिलो खानेकुराबारे छलफल गरेको जनाएको छ ।

त्यस्तै, ३६९ जना महिला स्वयम्सेविकालाई पोषण तथा स्वच्छता तालिम र एक हजार ६६७ जनालाई घरायसी खाद्यान्न उत्पादन तालिम प्रदानसँगै कुखुरा वितरण गरेको परियोजनाले दुई स्थानमा सामुदायिक चल्ला उत्पादन केन्द्र स्थापना गरेको जिल्ला संयोजक तामाङले जानकारी दिनुभयो । परियोजनाले आमा तथा बालबालिकाको सरसफाइ र स्याहारसुसारप्रति समुदायमा जागरण सिर्जना गरी पौष्टिक आहारा खुवाउने विषयमा सचेतना बढाएकाले परियोजनाले उपलब्ध गराएका उपलब्धिलाई निरन्तरता दिनुपर्ने स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले बताउनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV