एमालेबाट सांसद बनिसकेकी सपना प्रधानलाई न्यायधिशमा सिफारिस गरिनु आपत्तिजनक भएको कांग्रेस सभापति देउवाको भनाई, न्यायपालिकाको स्वतन्त्रतामाथि नै प्रश्न ।
काठमाडौँ, नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको न्यायाधीशमा सपना प्रधानको नाम सिफारिस गरिएकामा आपत्ति जनाउनु भएको छ । काँग्रेस सभापति देउवाले काठमाडौको बुढानिलकण्ठस्थित आफ्नै निवासमा प्रेस युनियनको बधाइ ग्रहण गर्ने क्रममा नेकपा एमालेबाट सांसद् भइसकेकी प्रधानलाई न्यायाधीशका लागि सिफारिस गरिनु आपत्तिजनक भएको बताउनुभएको हो ।
कांग्रेस सभापति देउवाले पार्टीप्रति वफादार व्यक्तिलाई न्यायाधीश नियुक्त गरेर निष्पक्ष न्यायको कल्पना गर्न नसकिने बताउनुभयो । न्यायपरिषद्ले फागुन १९ गते सर्वोच्च अदालतमा प्रधानसहितका ११ जनालाई न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो । काँग्रेस सभापति देउवाले व्यक्तिगतरूपमा योग्य र सक्षम भएपनि प्रधानले नेकपा एमालेको सांसद्का रुपमा काम गरिसकेका कारण उनलाई न्यायाधीश बनाउँदा भविष्यमा अरु सांसद्ले समेत न्यायाधीशका लागि लबिङ गर्ने र त्यसबाट न्यायपालिकाको स्वतन्त्रमाथि गम्भीर संकट निम्तिने बताउनुभयो ।
राष्ट्रिय सहमतिको सरकारबारे सञ्चारकर्मीहरुको जिज्ञासामा काँग्रेस सभापति देउवाले तत्कालका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक नरहेको बताउनुभयो । उहाँले प्रमुख दल मिलेर सरकार बनाउँदा तानाशाही प्रवृत्ति बढ्ने र सरकारलाई साइजमा राख्नका लागि बलियो प्रतिपक्ष अनिवार्य रहेको बताउनुभयो । उहाँले काँग्रेस अहिले सरकारमा जाने भन्दा बलियो प्रतिपक्षको भूमिका निभाउने पक्षमा रहेको प्रष्ट पार्नुभयो ।