२ चैत्र २०७२, मंगलवार

भक्तपुर, कमलविनायकबाट खरिपाटी नगरकोट हँुदै काभ्रेको सिपाघाटसम्म जाने १६ किमी सडकको निर्माण सरकारी कार्यालयबीचको समन्वयको अभावले अवरुद्ध भएको छ ।

nagarkot

भारत सरकारबाट करिब नेरु २५ करोडको लागतमा एक वर्षदेखि विस्तार भइरहेको उक्त सडकको निर्माण रुख काट्ने अनुमति नहुँदा र विद्युत् एवम् टेलिफोनका खम्बा नहटाउँदा अवरुद्ध भएको सडक विस्तार आयोजनाका कन्ट्र्याक्ट मेनेजर कुमारगौरव सिंहले बताउनुभयो ।

सडक निर्माणस्थलमा पर्ने सामुदायिक वनमा रुख काट्नका लागि जिल्ला वन कार्यलयबाट टाँचा लगाउने काम छ महिनाअघि नै भए पनि वन विभागले रुख काट्ने अनुमति नदिँदा सडक विस्तारमा समस्या आएको छ ।

सिंहले भन्नुभयो—“सडक विस्तारका लागि ल्याएको डोजर लगायतका प्राविधिक मेसिन १५ दिनदेखि थन्क्याएर राख्दा लाखाँैको नोक्सानी व्यहोर्नु परेको छ, पटक पटक रुख काट्ने अनुमति माग्दा र पोल हटाउन अनुरोध गर्दा पनि बेवास्ता भएपछि सडक निर्माण नै अवरुद्ध भएको छ ।”
सडक विस्तारमा परेको नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमका खम्बा समेत नहटाइँदा थप समस्या आएको छ । जिल्ला वन कार्यालयका प्रमुख सूर्यकान्त सिग्देलले भने सडकमा पर्ने रुख कटानी गर्न छ महिनाअघि नै टाँचा लगाइए पनि आयोजनाका बेवास्ताका कारण रुख कटान हुन नसकेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो—“रुख कटान गर्न आवश्यक पर्ने समिति बनिसकेको छ, त्यसको पटक पटक बैठक बसेर निर्णय पनि भएको छ, तर आयोजना प्रमुख नरेन्द्रनाथ कोइराला बैठकमा आउनुहुन्न, उहाँले निर्णयमा हस्ताक्षर नगरेसम्म विभागमा फाइल जाँदैन, त्यसैले ढिला भएको हो ।”

सडक विस्तार आयोजनाका प्रमुख कोइरालाले भने वन कार्यालयबाट रुख कटानी गर्न दैनिक र भ्रमणभत्ता माग भएकाले त्यसको व्यवस्था गर्न नसक्दा ढिलाइ भएको बताउँदै वन कार्यालयले माग गरेको रकम जुटाउने काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सडक र टेलिकमको खम्बा हटाउन रु दुई करोड ३० करोड माग भएकाले बजेट अभावमा ढिलाइ भएको हो ।

खम्बा हटाउन लाग्ने आवश्यक बजेट भारत सरकारसँग माग गरिएको र उक्त रकम आउनेबित्तिकै खम्बा हटाउने कार्य सुरु हुने बताइएको छ । वन कार्यालयका कर्मचारीले दैनिक र भ्रमण बापत एक दिनकै रु दुई लाखभन्दा बढी रकम माग गरेपछि समस्या आएको आयोजनाका कर्मचारीको भनाइ छ ।

सडक विस्तारमा ढिलाइ हुँदा नगरकोट, वागेश्वरी र छालिङका बासिन्दा एवम् नगरकोट जाने पर्यटकलाई सास्ती भएको बताउँदै स्थानीयवासी दीपक लामिछानेले वर्षा अगाडि सडक विस्तार नसके आवतजावत गर्नै नसक्ने अवस्था आउने जिकिर गर्नुभयो ।

स्थानीयवासी प्रकाश लामिछानेले भने सडक निर्माण परामर्शदाताले जिम्मेवारी पूरा नगर्दा र आयोजना तथा वन कार्यालयका कर्मचारीबीच ‘कमिसन’ नमिल्दा सडक विस्तार अवरुद्ध भएको बताउनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV