
काठमाडौँ, मृतकका आफन्तले पाउने राहत रकम खाएको अभियोगमा मुछिएका साउदी अरबका तत्कालीन राजदूत हमिद अन्सारीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ
। विशेषले अन्सारीमाथि ३ लाख ९६ हजार रुपैयाँ जरिवाना र सात महिना कैद हुने फैसला गरेको छ ।अन्सारीले साउदी अरबमा कामको सिलसिलामा मृत्यु भएका एक कामदारको क्षतिपूर्तिबापत आउने २० हजार रियाल आफैंले झिकेर लिएका थिए । ती कामदारका आफन्तले पहिलो र दोस्रो किस्तामा २७ हजार र २० हजार रियल पाउनुपर्ने थियो । पछिल्लो किस्ता भने राजदूतले आफ्नो नाममा निकालेर पीडित आफन्तलाई नदिएको प्रमाणित भएको छ ।
अन्सारी २०६४ देखि २०६७ माघसम्म गरी ३ वर्ष राजदूत भएका थिए । त्यसक्रममा उनका सहयोगी अहमद बकहित मुसाले हमिदको निर्देशनमा रकम निकालेर उनलाई नै बुझाएको बताएका थिए ।
‘त्यो रकम दूतावासमा नरहेको पुष्टि भयो,’ दूतावासका लेखा सहचारी उमेश मुडवरीको बयान उद्धृत गर्दै फैसलामा भनिएको छ । अल रजही बैंकबाट निकालेको उक्त ३ लाख ९६ हजार रुपैयाँ भ्रष्टाचार भएको ठहर विशेष अदालतले गरेको हो ।