१ चैत्र २०७२, सोमबार

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीको चैत्र ७ गते वाट हुने चीन भ्रमणको सम्वन्धमा चर्चा परिचर्चा शुरु भएको छ । मुख्य गरी पाँच महिने भारतीय नाकाबन्दीका कारण नेपालले भूराजनीतिक सम्वन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना भएको कारण प्रधानमन्त्री ओलीको चीन भ्रमण एक किसिमले बहुप्रतिक्षित जस्तो बन्न पुगेको हो । नेपालले दुई छिमेकी मुलकहरु भारत र चीनबीच सन्तुलित भूमिका राख्न सक्नुपर्ने एकातिर वाध्यता छ भने अर्कोतर्फ आर्थिक समृद्धिमा दुुवैको सहयोग उपयोग गर्नुपर्ने अर्को चुनौती छ ।

नेपाल चीनबीच औपचारिक कुटनीतिक सम्वन्ध स्थापना भएको ६० वर्ष पुगेको छ । यसको उपलक्ष्यमा दुवै मुलुकहरुवाट औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुपनि भईरहेका छन् । त्यतिमात्र होईन पछिल्लो पाँच वर्ष ट्रयाक टु भनिने नागरिकस्तरको कुटनीतिक सम्वन्ध पनि ह्वात्तै बढेको छ । त्यतिखेरको अवस्थामा आधुनिक राष्ट्रहरुको मोडल अनुसार कूटनीतिक सम्वन्ध स्थापना भैसकेको नभए पनि नेपाल र चीनबीचको सम्वन्ध चाहे त्यो सरकारीस्तरको होस् वा जनस्तरवाट त्यसको शताव्दीयौं लामो इतिहास छ । नेपालका कलाकार अरनिकोलाई विश्वकै शक्तिशाली सम्राट मानिएका चिनियाँ सम्राटले दिएको सम्मानवारे अहिलेपनि निकै स्मरण गर्ने गरिन्छ ।

चीनले प्रत्यक्षरुपमा बढी चासो राख्न थालेको चाहिँ सन् १९५९ मा तिव्वत कव्जा गरेपछि हो । नेपालमा अनावश्यक चलखेल नगर्ने, प्रत्यक्ष देखिने किसिमको दवाव नदिने र अन्र्तराष्ट्रिय मञ्चमा नेपाल जस्ता गरिव तथा साना मुलुकहरुको हितमा आवाज उठाउने भएकोले चीनप्रति नेपालमा बढी सकरात्मक धारणा रहँदै आएको छ । साताव्यापी भारतको भ्रमण सकेर चीनको भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री ओलीलाई यतिखेर सम्वन्ध थप सुमधुर गर्नेमात्र होईन केही महत्वपूर्ण एजेन्डाहरुमा साहसकासाथ सम्झौता गरी इतिहास रच्ने चुनौती र अवसर दुवै छ । मूल रुपमा नेपालको जटिल परिस्थितिको फाईदा उठाउँदै नेपालमाथि अनावश्यक दवाव दिँदै आएको भारतप्रति बढ्ता निर्भर रहनकोलागि चीनसंग खुलेरै नेपालको हितमा कुरा गर्नुपर्ने वाध्यता खडा भएको छ ।

ओलीले आफ्नो चीन भ्रमणकोलागि ठोस एजेन्डाहरु तयार गर्न निर्देशन दिईसकेका छन् । साथै उनले पूर्वप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीहरुसंग सल्लाह गरी सुझाव पनि मागेका छन् । यतिखेरको ओलीको भ्रमणमा पारवहन र इन्धनको सम्वन्धमा ठोस सम्झौता गर्नुपर्ने परराष्ट्रविद्हरुको सुझाव छ । त्यस्तै गरी चिनियाँ रेल काठमाडौंसम्म ल्याउने, विश्वको दोस्रो अर्थतन्त्र चीनवाट लगानी भित्राउने र दीर्घकालीन हितकोलागि केही ठोस सम्झौताहरु गर्ने लगायतका महत्वपूर्ण मुद्याहरुमा ओलीले प्रष्टसंग चिनिया नेतृत्वसंग कुरा राख्नुपर्ने भएको छ । निश्चितरुपमा विश्वकै शक्ति राष्ट्र चीनका नेपालसंग केही स्वार्थ छन् । ती चाहना र स्वार्थलाई राष्ट्रिय स्वार्थमा असर नगर्ने गरी नेपालले सम्वोधन गर्न चुक्नु हुँदैन् । मुख्य गरी सुरक्षा, तिव्वत मुद्दा, पश्चिमा दूतावास एवं संस्थाहरुको अनावश्यक चलखेलप्रति चीनले चासो दिँदै आएको छ । असल छिमेकीको नाताले नेपालले चीनको उक्त चिन्तालाई सम्वोधन गर्नै पर्दछ । विश्लेषकहरुका अनुसार प्रधानमन्त्री ओलीले चिनियाँ सरकारी एवं निजी कम्पनीहरुलाई नेपालमा लगानीकोलागि प्रेरित गर्न सक्नुपर्छ । त्यसकोलागि ओलीले नेपालमा सही वातावरण तयार रहेको दरिलो सन्देश दिन सक्नुपर्छ । भारत र चीन नेपालको विदेश नीतिको समदूरीमा छन् भन्नेमात्र सन्देश चीनलाई दिन सके भ्रमण सफल मानिने कूटनीतिका जानकारहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV