
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न राजनीतिक दलका नेताले चीन भ्रमणका क्रममा राष्ट्रहित र छिमेकीको चासो बुझेर सम्झौता गर्नुपर्ने सुझाव दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले देशभित्र लगानी भित्र्याउने र सामान ल्याउन लैजान बिनाभन्सार सहुलियतको व्यवस्था भ्रमणमा प्रधानमन्त्रीले गर्नुपर्ने बताउनुभयो ।
पूर्वऊर्जामन्त्री तथा परराष्ट्रराज्यमन्त्री डा महतले नेपालको स्थिरता कायम नगरेसम्म छिमेकबाट फाइदा लिन नसक्ने भएकाले प्रधानमन्त्रीले भ्रमणका क्रममा नेपालमा संविधान निर्माण भएर स्थायित्व कायम भएको विषयमा आश्वस्त पानुपर्नेमा जोड दिनुभयो ।
एकीकृत नेकपा (माओवादी)का सचिव वर्षमान पुनले छिमेकीसँगको सन्तुलित सम्बन्ध राष्ट्रिय हितमा हुने बताउँदै राष्ट्रहितलाई ध्यानमा राखेर प्रधानमन्त्रीले चीन भ्रमणमा सन्धिसम्झौता गर्नुपर्ने बताउनुभयो ।
पूर्वअर्थमन्त्री पुनले संविधान कार्यान्वयनमा छिमेकीको सद्भाव प्राप्त गर्ने, पुनःनिर्माणमा सहयोग जुटाउने र आर्थिक विकासका लागि चिनियाँ लगानी भित्र्याउने काम गरे प्रधानमन्त्रीको भ्रमण सफल हुने धारणा राख्नुभयो ।
नेकपा (एमाले)का नेता डा राजन भट्टराईले चीनबाट समेत भूपरिवेष्ठित नेपालले पारवहन अधिकार पाउने विषय र चीनबाट इन्धन ल्याएर एकतर्फी निर्भरता हटाउन इन्धन आपूर्ति सम्झौता गर्नुपर्ने बताउनुभयो ।
परराष्ट्रविद् डा भट्टराईले जलस्रोतको विकास र बजार खोज्ने, भारततर्फको व्यापार निर्भरता घटाउन राष्ट्रहितका लागि व्यापार विविधीकरण गर्ने, चक्रपथ विस्तार, उत्तरदक्षिण राजमार्ग निर्माण, इन्धन भण्डारण, कृषिको आधुनिकीकरण र पर्यटन विकासको विषयमा छलफल हुने बताउनुभयो । उहाँले भन्नुभयो– “छिमेकीको चासो सम्बोधन गर्नुपर्छ र सम्बन्धलाई थप उचाइमा पु¥याउने गरी भ्रमणलाई भरपुर उपयोग गर्नुपर्छ ।”
परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्रीको चीन भ्रमणले सहज रहेको दुई देशबीचको सम्बन्धलाई अझै सहज बनाउने विश्वास व्यक्त गर्दै नेपाल र चीनको सम्बन्धको कुरा गर्दा त्यसमा भारतको आँखाले हेर्न नहुने तर्क गर्नुभयो । उहाँले भन्नुभयो– “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातमा चीनको लगानी ल्याउने अनि नेपालमा ल्याउन हुँदैन भन्नु हुँदैन ।”
प्रधानमन्त्री ओलीले यही चैत ७ गतेदेखि चीनको छदिने औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । रासस