
काठमाडौँ, पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसममा खराबी आएको छ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश भागमा बदली हुनुका साथै पश्चिमका केही भेगमा वर्षा भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।
मौसमविद् कँडेलका अनुसार मौसम बदली आज दिनभर रहने र खासगरी पहाडी भेगमा वर्षा र उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना छ । काठमाडौँ उपत्यकामा साँझपख क्षणिक वर्षा हुने छ । पश्चिमका अधिकांश भेगमा हिजैदेखि नै क्षणिक वर्षा हुने क्रम जारी रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो बिहानदेखि आज बिहानसम्म दिपायलमा ३० मिलिमिटर, धनगढी र वीरेन्द्रनगरमा २२ समान मिलिलिटर वर्षा भएको छ । नेपालगन्ज, दाङ, जुम्ला, डडेलधुरालगायतका स्थानमा पनि हल्का वर्षा भएको छ ।
देशको पश्चिमी भेगबाट हिजोदेखि नै सक्रिय प्रणाली अहिले क्रमशः पूर्वतर्फ सरेको भए पनि पश्चिमका अधिकांश भेगमा आज पनि बदली भएको छ । काठमाडौँ उपत्यकासहित देशभरको मौसममा भोलि बिहान केही सुधार आए पनि दिउँसो पुनः बदली हुने र बुधबारदेखि मात्र मौसममा सुधार आउने मौसमविद् कँडेलको भनाइ छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलब ५ र अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियसको हाराहारीमा रहेको महाशाखाले जनाएको छ ।