
काठमाडौँ, वैशाख १२ गते गएको विनाशकारी भुकम्पबाट प्रभावित क्षेत्रका जनताका लागि विभिन्न पक्षबाट भएका सहयोग र सञ्चालित सहयोग कार्यक्रमहरुको सुक्ष्म समीक्षा गरिएको छ । एक्ट एलाइन्स नामक संस्थाले भूकम्प प्रभावित क्षेत्रका पीडितहरुका लागि सञ्चालित सहयोग कार्यक्रमहरुको सुक्ष्म रुपमा निगरानी गर्दै आएको हो ।
विभिन्न १ सय ४० वटा देशबाट १ सय ४७ भन्दा बढि सदस्य रहेको एक्ट एलाइन्स नामक अन्तराष्ट्रिय संस्थाले मानवताको धर्म देखाउँदै नेपालको भुकम्प प्रभावित जिल्लाहरुमा गरेको आपत्कालिन सेवा, सीपमुलक कार्यक्रम र स्वास्थ्य सम्बन्धि कार्यको समीक्षा गर्दै नेपालका भुकम्प प्रभावित जिल्लाहरुमा पुन निर्माणको कार्य गर्न तत्परता देखाएको हो ।
शनिवार आयोजित पत्रकार सम्मेलनमा एक्ट एलाइन्सका प्रमुख जेनेभाका नागरिक जोन एन डुनाले नेपालको पुननिर्माणका विषयमा र नेपालको भुकम्प प्रभावित जिल्लामा गरेको कार्यको अध्ययन र नेपालका प्रधानमन्त्री,उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसँगको भेटपछि नेपालमा अझ सहयोग गर्ने आशा एवं विश्वास जागेको बताउनुभयो ।
सीमान्तकृत तथा पीडित समुदायलाई उत्थान गरेर संरक्षण गर्ने र विभिन्न विपतमा परेकालाई सहयोग गर्दै आएको एक्ट एलाइन्स नेपालमा पनि भुकम्प आउनुभन्दा अघिदेखि नै विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ ।