
काठमाडौँ, अपाङ्गता भएका व्यक्तिहरुप्रतिको नकारात्मक सोच अझै अन्त्य हुन नसकेकोप्रति सरोकारवालाहरुले गुनासो व्यक्त गरेका छन् । सरकारको यही सोचका कारण अझै धेरै सरकारी कार्यालय संरचनाहरु अपाङ्गतामैत्री बन्न नसकेको उनीहरुको कथन छ ।
शनिबार अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय महाअभियान ‘एशिया ट्राई २०१६’ को समापन कार्यक्रममा बोल्ने अधिकांशले राज्यको नीति, योजना तथा कार्यक्रमहरु पनि अपाङ्तामैत्री बन्नुपर्ने धारणा राखेका थिए ।
अर्थपूर्ण समावेशीकरणः सबै क्षमताका व्यक्तिहरुका लागि पहुँच र सशक्तिकरण भन्ने मुल नाराका साथ महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिवको संयोजकत्वमा सरोकारवाला निकायको सहभागितामा सुरु गरिएको अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय महाअभियान ‘एशिया ट्राई २०१६’ को शनिबार समापन गरिएको छ । राष्ट्रिय मान अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा उहाँले अपाङ्गता भएका ब्यक्तिहरुको सस्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीरतापूर्वक काम गरेको बताउनुभयो ।
कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव होमकला पाण्डेले अपाङ्गता भएका ब्यक्तिहरुको सामाजिक, आर्थिक बिकासका लागि ध्यानमा राखी नीतिगत सुधारका साथै कार्यन्वायनमा जोड दिइएको बताउनुभयो ।
महाअभियान काठमाण्डौं उपत्यका लगायत काभ्रे र कास्कीमा विविध कार्यक्रमका साथ बुधबारदेखि शुरु भएको थियो । महाअभियानमा स्वदेश तथा एसियाका विभिन्न मुलुकबाट गरी तीन सय जना अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
अभियानमा सार्वजनिक सडकहरुमा सर्वसाधारणमा अपाङ्गता सम्बन्धी विषयमा जनचेतना जागृत गर्न कोणसभा आयोजना, पर्चा पम्प्लेट वितरण, माईकिङ, सार्वजनिक स्थलमै खाना खाई रात बिताउने लगायतका कार्यक्रम राखिएको थियो ।