२९ फाल्गुन २०७२, शनिबार

काठमाडौँ,  नेपाली कांग्रेसको केन्द्रीय सदस्यको लागि मतगणना आज पनि जारी छ । हिजो साँझ स्थगित मतगणना बिहान ९ बजेपछि पुनः सुरु भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

खुला तर्फको मत गणनामा नेता शेखर केइराला अग्रस्थानमा रहेका छन् । नेपाली कांग्रेसको खुला तर्फको केन्द्रीय सदस्यका लागि हिजो साँझसम्मको मतगणना अनुसार शेखर कोइरालाको अग्रता कायमै छ । त्यसपछि क्रमशः खुमबहादुर खड्का, प्रकाशमान सिंह,  प्रदीप पौडेल, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र प्रदीप गिरी अग्रस्थानमा हुनुहुन्छ । त्यस्तै, दलित पुरुष आरक्षणतर्फको केन्द्रीय सदस्यको मत गणनामा तीन जनाले अग्रता लिएका छन् । जीवन परियार, मीन विश्वकर्मा र मानबहादुर विश्वकर्मा सबैभन्दा अगाडि छन् । त्यसैगरी, महिला दलित कोटाको केन्द्रीय सदस्यका लागि लक्ष्मी परियार र सुजाता परियारको अग्रता छ । कांग्रेसको आदिवासी जनजाति (पुरुष) केन्द्रीय सदस्यको पछिललो मत परणाम अनुसार बहादुरसिंह लामाको अग्रता छ  । निर्वाचन सकिएको एक साता वित्नै लाग्दा पनि मतगणना नसकिएकोमा निर्वाचन समितिलाई दवाव परेको छ ।

यसैबीच, खुला २५ केन्द्रीय सदस्यका लागि मतगणना ढिलाई भइरहेका बेला कांग्रेस निर्वाचन समितिले आजदेखि प्रदेशतर्फको पनि मतगणना गरेको छ । प्रदेशको तर्फबाट छानिने केन्द्रीय सदस्यका लागि आजबाट मतगणना सुरू गरिएको हो । सातवटै प्रदेशबाट दुई÷दुई जनाको दरले सदस्य चुनिने छन् ।

LIVE TV