२८ फाल्गुन २०७२, शुक्रबार

काठमाडौँ,  केही समय अघिसम्म वैदेशिक रोजगारका लागि जानेहरुको भीड हुने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हिजोआज भने त्यो भीडमा निकै कमी आएको छ । प्रहरीको छापामार्ने शैलीका कारण असुरक्षा महसुस गरेका म्यान पावर व्यवसायीहरुले आफनो व्यवसाय नै अनिश्चतका लागि बन्द गरेपछि बैदेशिक रोजगारमा जानेहरुको संख्या यसरी पातलिदै गएको हो । यसको प्रभाव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अगाडि सडकमा साना व्यवसाय गर्दै आएकाहरुलाई समेत परेको छ ।

rojgar

दुई साता अघि प्रहरीले छापा मारेपछि अनिश्चतकालिन बन्द गरेका म्यान पावर कम्पनीहरु अझै बन्द छन् । विदेश पठाउँन मूख्य भूमिका खेल्ने म्यानपावर कम्पनीहरु नै बन्द रहेपछि विदेश जाने कामदारहरुको संख्या घट्दा विमानस्थल हिजोआज सुनसानमय बनेको छ । बैदेशिक रोजगारमा जानेहरुको भीड कम भएपछि विमानस्थल अगाडिका सडकमा साना व्यवसाय गर्नेहरुलाई समेत प्रत्यक्ष असर परेको छ । भीड कम भएपछि पहिले पहिले दैनिक दुई हजारसम्मको व्यापार हुने ठाउँमा अहिले दुई तीनसयको व्यापार हुन पनि मुस्किल परेको एक महिला व्यापारीले बताईन् ।

यता म्यानपावर व्यवसायीहरुको अवस्था पनि सखद छैन । प्रहरीको कदमविरुद्ध अनिश्चतकालीन कम्पनी बन्द गरेपछि अहिले पेशा नै परिवर्तन गर्न बाध्य हुनुपर्ने अवस्था आएको म्यान पावर व्यवसायी संघका अध्यक्ष विमल ढकालको भनाई छ । तर सरकारका तर्फबाट सुरक्षाको प्रत्याभूति नगराएसम्म बन्द म्यानपावर व्यवसाय नखुल्ने उहाँको अडान छ ।

अध्यक्ष ढकालले बैदेशिक रोजगारीमा पठाउने म्यानपावर व्यवसायीहरुलाई प्रहरीले सीधै छापा मार्न नमिल्ने दाबी गर्नुभयो । व्यवसायीबाट ठगी भएको पाइएमा नेपाल सरकारको मातहतमा रहेको बैदेशिक रोजगार विभागलाई मात्र छापा गर्ने अधिकार रहेको उहाँको प्रष्टोक्ति छ । तर नेपाल सरकारको मातहतमा रहेको विभागका निर्देशक जनकराज रेग्मीले भने प्रहरीले छापामारेर  कागजपत्रहरु जफत गरेकोबारे आफुहरु अनभिज्ञ रहेको दाबी गर्नुभयो ।

उँहाले म्यानपावर व्यवसायीहरुको समस्या र विवादका विषय श्रम मन्त्रालयबाट हुने गरेकाले आफुहरुलाई थाहा नभएको तर्क राख्नुभयो ।

लामो समयदेखि म्यानपावर व्यवसाय बन्द हुदाँ एकाएक सुनसान बनेको त्रिभुवन विमानस्थल अगाडिका सडक व्यापारीदेखि म्यानपावर व्यवसायीसम्मलाई असर पारेको छ । अझ त्यो भन्दा बढी त रेमिट्यान्सले धेरै प्रतिशत हिस्सा ओगटिरहेको मुलुकको अर्थतन्त्रमा समेत यसको दीर्घकालीन असर देखिनेमा दुई मत छैन ।

 

LIVE TV