२७ फाल्गुन २०७२, बिहीबार

नुवाकोट-क्रसर उद्योग सञ्चालकले तारुका क्षेत्रमा त्रिशूली नदीको बहाव परिवर्तन गरेर जथाभाबी ढुंगा–बालुवा उत्खनन् गरिरहेका छन् । जिल्ला विकास समिति, नुवाकोटको अनुमति लिएर आफूले नदीजन्य पदार्थ उत्खनन गरिरहेको व्यवसायी बताउँछन् । नदीमा बाँध बाँधेर बहाव नै परिवर्तन गरी गिट्टी–बालुवा निकाल्ने कार्य भइरहे पनि यस विषयमा अनुमति दिने जिविस, नुवाकोटका अधिकारी भने बोल्न चाहेनन् ।

trisuli

क्रसर उद्योग तथा ठेकेदारलाई नदीबाट गिट्टी–बालुवा–ढुंगा झिक्न अनुमति दिएको विषयमा जानकारी माग्दा स्थानीय विकास अधिकारी नारायण रिसाल केही बोल्न चाहेनन् । जिविसले ठेकेदार राजेन्द्र थपलियालाई उक्त काम गर्न अनुमति दिएको छ । जिविस कर्मचारीका अनुसार थपलियाको प्रभावमा परेर स्थानीय विकास अधिकारी रिसालले अनुमति दिएका हुन् ।

मापदण्डअनुसार खोलाभित्र स्काभेटर लग्न र बहाब थुन्न पाइँदैन । तर स्थानीय विकास अधिकारीले नियम कुल्चदै पुल निर्माणका नाममा क्रसर उद्योग सञ्चालक तथा ठेकेदारलाई विभिन्न बहाना बनाएर गिट्टी–बालुवा –ढुंगा झिक्न अनुमतिपत्र थमाउँदै आएको कर्मचारी बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय, नुवाकोटले नदी उत्खनन् तथा ह्युमपाइप हाल्ने कार्य रोकेपछि आफूलाई जिविसले अनुमतिपत्रको बोधार्थ पठाएको प्रहरी नायब उपरीक्षक सिद्धिविक्रम शाहले बताए । उनले भने, ‘हामीले सुरुमा खोला थुन्नु गैरकानुनी भन्दै रोक्यौं, त्यसपछि जिविसले काम नरोक्न भन्दै हामीलाई अनुमति दिइएको पत्रको बोधार्थ पठायो ।’

क्रसर उद्योगीको जथमाभाबी नदी उत्खनन् रोक्न खोजे प्रहरीलाई राजनीतिक दलका नेताबाट पनि खुलाउन दबाब आउने गरेको छ । दबाब र प्रभावमा जिविसले नदी उत्खनन अनुमति दिँदा त्रिशूली र तादी नदी किनारमा क्रसर उद्योगहरू बढ्दै छन् ।

खोला थुनेर बहाव परिवर्तन गरिएको ठाउँ गल्छी–त्रिशुली सडक खण्डअन्र्तगत रातमाटे गाउँनजिक तारुका प्रहरी चेक पोस्टबाट ५ सय मिटर टाढा छ । त्यो स्थान झोलुंगे पुलको ५ सय मिटर नजिक छ । गल्छीदेखि देवीघाट पुग्दासम्म त्रिशूली नदीमा स्काभेटरले निकालिएका बालुवा–गिट्टी र ढुंगाका रास देखिन्छ । स्थानीयले क्रसर उद्योगीको मनोमानीबारे विरोध गरे पनि प्रशासन मौन छ । ‘हामीले त उद्योगीका मनोमानी बारेमा चुइक्क बोल्यो कि बेलुकाको बास खोज्न अन्तै जानुपर्छ,’ एक स्थानीयले नाम नबताउने सर्तमा भने, ‘प्रशासनले नसुनेपछि क्रसर डनको मनोमानी सहनु र चुप लागेर बस्नुको विकल्प छैन ।’

क्रसर उद्योगले स्थानीयलाई मात्रै होइन प्रहरीलाई समेत जिविसको अनुमतिपत्र देखाउँदै उत्खनन तीब्र पारेका छन् । त्रिशूली र तादीमा बहाव परिवर्तन गरेर बालुवा–गिट्टी उत्खनन सामान्यजस्तै भएको ती स्थानीयले बताए ।

जिल्लाका क्रसर उद्योगमा नेपाली कांग्रेस, एमाले र एमाओवादी नेताकार्यकर्ताको संलग्नता छ । त्यसैले दलका नेताकार्यकर्ता क्रसर उद्योगका विषयमा केही बोल्न चाहदैनन् ।

तारुका र रातामाटेका स्थानीयले ठेकेदारले नदीको बहाव परिवर्तन गरेर बालुवा–गिट्टी–ढुंगा झिकिरहेको जानकारी एक महिनाअघि जिल्ला प्रशासन कार्यालयलाई गराए पनि कारबाही नभएको बताए । ‘सरकारले नदीक्षेत्रबाट जथाभाबी ढुंगा–बालुवा–गिट्टी झिक्न रोक्ने घोषणामात्रै गर्यो तर त्यसको कार्यान्वयन भने गरेन,’ नुवाकोट, रातमाटेका एक स्थानीयले भने, ‘जिविस कर्मचारी नै आएर क्रसर उद्योगीलाई ढाडस दिएर जान्छन्, हामी जति कराए पनि केही नहुने भयो ।’

क्रसर उद्योगका कारण नदी कतै दबिने र कतै उठ्ने त भएकै छ, आसपासका बासिन्दा पनि प्रभावित छन् । क्रसर उद्योगको कर्कस आबाजले रातभर राम्रोसँग निदाउन पनि नपाइने स्थानीय बताउँछन् । ‘बिरोध गर्यो, घरमा बस्न नपाइएला भन्ने डर,’ रातामाटेका अर्का एकजनाले भने, ‘ ध्वनि प्रदुषण र धुलोले बस्नै सकस छ ।’

स्थानीयबासीका अनुसार जथाभाबी उत्खननका कारण नदी गहिँरिदै जाँदा रातमाटे र दुईपिपलको उर्वरफाँटमा सिँचाइ प्रभावित भएको छ । क्रसर उद्योगका कारण त्रिशूली नदीले हरेक वर्ष धार परिवर्तन गर्दा खेतीयोग्य जमिन बगरमा परिणत भइरहेको छ ।

क्रसर उद्योगका कारण माछा मार्नेहरू पनि संकटमा परेका छन् । माछा मार्ने काम गर्दै आएका ३४ वर्षीय विश्वकसेन राई भन्छन्, ‘क्रसर उद्योग सञ्चालनपछि आफूहरूको माछा मार्ने व्यवसाय संकटमा परेको छ ।’

खोला ठेक्कामा लगाएर करोडाैं असुल्ने जिविस, नुवाकोटले वर्षमा एक दुईपटक अनुगमन गर्छ । तर उसले मापदण्डविपरीत सञ्चालनमा पाइएका यस्ता उद्योगको मनपरीमा रोक भने लगाउन सक्दैन । उसले मापदण्ड नाघेका क्रसर उद्योगलाई कारबाही साटो सामान्य भनेर सचेत गराउनेबाहेक केही गरेको पाइँदैन ।

स्थानीय स्वायत्त शासन ऐन, २०५५ अनुसार निकासी हुने सामानमा निकासी कर लगाउन पाउने प्रावधान टेकेर जिविसले जथाभाबी उत्खनन् हुँदा पनि मौन बसेर समर्थन जनाइरहेका छ । पुल, विद्यालय, बस्तीबाट क्रसर उद्योग टाढा रहनुपर्ने नियम सरकारले बनाए पनि उद्योगीले लत्याउँदै आएका छन् । ऐनमा जिल्ला विकास समितिले आफ्नो क्षेत्रभित्रका नदीनालाको बालुवा, गिट्टी, ढुंगा, स्लेट आदि तोकिएबमोजिम बिक्री गर्नसक्ने व्यवस्था छ । नदी क्षेत्रमा मानिसको सहायताले मात्र उत्खनन् गर्न पाइने मापदण्ड सरकारले तोके पनि क्रसर उद्योगीले स्काभेटर नै प्रयोग गरिरहेका छन् ।

सरकारको निर्णय अनुसार चुरे क्षेत्रको १ किलोमिटरभित्रबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्न पाइँदैन । खोला किनारा तथा राजमार्गबाट ५ सय मिटर, पक्की पुलबाट ५ सय मिटर र हाइटेन्सन लाइनबाट सय मिटर तथा अन्र्तराष्ट्रिय विमानस्थलबाट एक किलोमिटर बाहिरमात्र उद्योग सञ्चालन गर्न पाउने व्यवस्था मापदण्डमा छ । शिक्षण संस्था, धार्मिक, सांस्कृति, स्वास्थ्य संस्था, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, राष्ट्रिय वन, घना बस्तीको ५ सय मिटरभित्र पनि क्रसर उद्योग सञ्चालन गर्न पाइँदैन । त्यस्तै तालतलैया, पोखरी र जलाशयको दुई मिटर क्षेत्रमा पनि उत्खनन् प्रतिबन्ध लगाइएको छ । प्राारम्भिक वातावरणीय परीक्षण मापदण्डअनुरूप नदी फोहोर नहुनेगरी किनारामा मानिसको सहायताले ३० सेन्टीमिटरसम्म गहिरो खनेर बालुबा, गिट्टी र ढुंगा झिक्न पाइन्छ ।

घरेलु तथा साना उद्योग विकास कार्यालय, नुवाकोटका अनुसार त्रिशूली नदीमा देवीघाटदेखि कोल्पु खोलासम्म सञ्चालनका लागि ७ वटा क्रसर उद्योग दर्ता भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV