
लमजुंग, महाशिवरात्रीको अवसर पारी लमजुङको इशानेश्वर महादेव मन्दिर परिसरमा लमजुङ र तनहुँका स्थानियहरुले बनाएको डोको, नाम्लो, नाङ्लो, भकारी, हसिँया, कोदालो लगायतका घरेलु हस्तकलाका सामाग्रीहरुले निकै चर्चा पाएको छ । बिक्रिमा राखिएका घरेलु हस्तकलाका सामाग्रीहरुले मेला भर्न आएका भक्तजनहरुको मात्रै होइन् अन्य सर्बसाधरणहरुको पनि ध्यान खिचेको थियो ।ग्रामीण क्षेत्रमा बसोबास गर्ने स्थानियबासिन्दाको दैनिक आम्दानीको राम्रो स्रोत बनेकोे बाँसको चित्राबाट सामग्री बनाउने पेसा हिजोआज संकटमा पर्दै गएको प्रति देउराली–६ तनुहँका टेकबहादुर भुजेलले गुनासो पोखे । उनले अर्काको मुलुकमा जानभन्दा सिप सिकेर स्वदेशमै बस्न सुझाव दिएका छन् ।
ग्रामीण क्षेत्रमा बाँसको महत्व बुझ्न नसक्नु, बाँसको सामग्री निर्माण गर्न कठिनाइ हुनु र नयाँ युवामा बाँसको सामग्री निमार्णप्रतिको चासो कम भएको हुनाले यसको महत्व घट्दै गइरहेको घरेलु हस्तकलका प्रशिक्षक झिमेल भुजेल बताउँछन् । बाँसको चोयाबाट बनाइने डोको, नाङ्लो, मान्द्रो सीप भएको कारणले यसैमा भविष्य रहेको उनले बताए ।
शिवरात्रीको मेला भर्न आएका भक्तजन तथा घुम्न आएकाहरुको रोजाईमा बाँस तथा निगालोबाट बनाइएका विभिन्न आकार प्रकारका नाङ्लो र मान्द्रोमा ध्यान केन्द्रित थियो । ब्यापारीहरुले पनि आफुले बुनेको सामानको उचित मुल्य राखी ग्राहकहरुलाई बिक्रि गरेका छन् । ग्रामीण क्षेत्रमा निर्माण गरिएका घरेल सामग्रीले आजभोलि तल्लो क्षेत्र तथा तराईका बजारमा बजार पाउन नसक्नाले पनि विस्तारै यसको ब्यापारमा कमी आएको उनिहरु बताउँछन् ।
हिजोआज ग्रामीण क्षेत्रमा प्लास्टिकका सामग्रीको बढ्दो प्रयोग र यो पेसा अगाल्ने जनशक्तिको अभावका कारण यो ब्यवसाय ओझेलमा परेको प्रति उनिहरु चिन्तित छन् । ग्रामीण क्षेत्रका कयाँै जनाको जीविकोपार्जनको साधन बनेको चित्रा पेसाप्रति युवा पुस्ताको आकर्षण नभएका कारण यो पेसा सङ्कटमा परेको उनिहरुको भनाई छ । नेपालको पहाडी क्षेत्रमा मात्रै नभई तराईका सहरबजारमा समेत पाउन सकिने चित्राका सामग्री डोको, नाङ्लो, झुला, मान्द्रो, भकारी आदि सामाग्री आजभोलि देखिन छाडेको छ ।