२७ फाल्गुन २०७२, बिहीबार

विराटनगर भन्सार एजेन्टहरुले बिहीबार तेस्रो दिन पनि काम ठप्प पारेर आन्दोलन जारी राख्दा १६ करोड रुपैयाँ राजश्व असुली नोक्सानी भएको छ ।

प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा बढी परिमाणको सामान जाँचपास गरी सोही अनुरुप कागज मिलाउने गरेको भन्दै प्रहरीले कडाई गरेपछि भन्सार एजेन्ट संघ आन्दोलनमा छ ।

Biratnagar-Vansar

रानी भन्सार कार्यालय प्रमुख कृष्ण बस्नेतले कर्मचारी आन्दोलनका कारण तेस्रो मुलुक तथा भारतबाट आर्यात गरिएका र भारततर्फ निर्यातका लागि तयारी अवस्थामा रहेका मालबाहक सवारी साधनको जाँचपास नभएको बताए । उनले हालसम्म १२ करोड राजश्व असुली प्रभावित भएको बताए ।

भन्सार एजेन्ट संघ विराटनगरका अध्यक्ष विजेन्द्र परासरले भन्सार जाँचपास भएर पठाइएका सामान जाँचमा प्रहरीले दुःख दिएकाले आफूहरु आन्दोलित हुनु परेको आरोप लगाए ।

तर प्रहरीले गैरकानुनी काम गर्ने छुट कसैलाई नभएको भन्दै त्यसविरुद्ध प्रहरी सँधै सक्रिय हुने स्पष्ट पारेको छ ।

‘गैरकानुनी काम गर्ने छुट कसैलाई पनि छैन तर पनि भन्सार एजेन्टहरु आन्दोलनमा छन्,’ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गंगा पौडेलले भने ।

लत्ताकपडा बोकेको को १ ख ३७७४ नम्बरको ट्रक गत शनिबार इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१४ बाट नियन्त्रणमा लिएपछि विवाद सुरु भएको थियो । बेवारिसे अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको ट्रक आवश्यक अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान इकाई क्षेत्रीय कार्यालय इटहरीमा बुझाएको थियो । ट्रकको जाँचपास एजेन्ट किशोरबहादुर शाहीले गरेका थिए । ट्रक लिएर आएका चालक प्रहरीलाई देख्नसाथ चाबी लगाएर भागेका प्रहरीको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV