२७ फाल्गुन २०७२, बिहीबार

संखुवासभा: सरकारले चीनसँग किमाथांका नाका सञ्चालनमा ल्याउने सहमति गरेसँगै चीन प्रशासनले त्यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता बढाएको छ । नाका आसपास चहलपहल तीव्र भएपछि सतर्कता बढाइएको हो ।

camera

चीन प्रशासनले कामुखोलामा रहेको मितेरी पुलनजिक नेपाली भूमितर्फ सीसी क्यामेरा जडान गरेको छ । केही समयअघिसम्म खुला रहेको नाका हिजोआज भने स्थानीयवासीका लागि समेत सातामा दुई दिनमात्र खुला गर्ने गरिएको छ । चीन प्रशासनले नेपाली सुरक्षाकर्मीलाई देन्दाङ नगरमा निमन्त्रणा गरी सीमा सुरक्षाबारे सचेत बन्न आग्रहसमेत गरेको छ ।

दुई महिनाअघि देन्दाङमा सीमा सुरक्षाचौकी किमाथांकाका सुरक्षा टोलीलाई निमन्त्रणा गरी नेपालीलाई चीन प्रवेश गराउँदा अनिवार्य प्रहरीबाट पास उपलब्ध गराउन चीन प्रशासनले अनुरोध गरेको थियो । अहिले प्रहरीको सिफारिस पास नलिएका स्थानीय बासिन्दालाई चीन प्रवेश गर्न रोक लगाइएको छ ।

चीन प्रशासनले नेपालतर्फ चिनियाँ नागरिक आए फिर्ता गराउनु र कुनै गतिविधि गरे कारबाही गर्नसमेत भनेको किमाथांका प्रहरीले जनायो । किमाथांका, चेपुवा र सीमा क्षेत्रवासी नुन, तेल, चामललगायत अत्यावश्यक सामग्री खरिद गर्न चीनको चाँगाबजार जानुपर्ने बाध्यता छ ।

सातामा दुई दिनमात्र नाका खुला गर्ने गरिएपछि समस्या भएको स्थानीय मीना नबाले बताए । ‘जोहो गर्ने चलन छैन, आवश्यक परे खरिद गरेर ल्याउने चलन थियो । अहिले सीमामा कडाइ गरेपछि समस्या भयो’, उनले भने ।

प्रहरीको पास लिएका सबैले चीन प्रवेश गर्न पाउने छैनन् । चिनियाँ सुरक्षाकर्मीले शंका लागेमा फिर्ता पठाउने गरेका छन् । बिहान १० बजे चीन प्रवेश गरेपछि पाँच बजेअगाडि नेपाल फर्किसक्नुपर्ने हुन्छ ।

दुई महिनाअघि डोल्पाका नेपाली व्यापारीले चीनका व्यापारीसँग चाँगा बजारमा झगडा गरी कुटाकुट गरेपछि नाकामा झन् कडाइ गरिएको किमाथांकाका निमाछेदर नाबाले बताए । बाहिरका व्यापारी आएर व्यापार गर्न थालेपछि चिनियाँ प्रशासनले कडाइ गरेको नाबाको भनाइ छ ।

चीनले सीसी क्यामेरामात्र नभएर चीनतर्फको भूभाग ‘सानो चाइना’ क्षेत्रलाई पूर्ण रूपमा तारजालीले घेरेको छ । व्यापार र ढुवानीका नाममा दैनिकजसो हेलिकोप्टर आउनु, अरुण नदीको किनारमा ल्यान्ड गरेर बिनाकारण घन्टौं बस्ने गर्नाले चीन प्रशासनले सीमामा कडाइ गरेपछि आफूहरूले दुःख पाउने गरेको किमाथांकावासीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV