
कांग्रेसको खुलातर्फका २५ केन्द्रीय सदस्यको मतगणना बुधबार मध्याह्नबाट सुरु भएको छ । साँझसम्म एक सय ५० मत मात्र गणना गरिएको छ । खुला सदस्यमा ९० प्रतिस्पर्धी छन् । साँझ साढे ६ बजे मतगणना स्थगित गरिएको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले बताए । बाँकी मत बिहीबार बिहान १० बजेबाट गणना हुने उनको भनाइ छ । महाधिवेशनमा कुल ३१४८ मत खसेको थियो ।
खुला सदस्यतर्फ जम्मा डेढसय गनिए पनि आरक्षणतर्फका सदस्यको मतगणना नै सुरु भएको छैन । खुला सदस्यको गणना बुधबार बिहान १० बजेबाट सुरु गर्ने निर्वाचन समितिको कार्यतालिका थियो । तर, उम्मेदवारहरुले प्रोजेक्टरबाट सबैले देख्ने गरी मतगणना गर्नुपर्ने माग राखेपछि केही ढिलो भएको थियो ।
खुला सदस्यको एउटा मतगणना गर्न कम्तीमा तीन मिनेट लागेको छ । एक मत गन्न यसैगरी तीन मिनेट लाग्ने हो भने चौबिसै घन्टा गन्दा पनि ६ दिन लाग्छ, जबकि निर्वाचन समितिले बुधबार साढे ६ घन्टामात्र मतगणना गरेको छ, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।